तपाईँ सुन्दै हुनुहुन्छः

वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढ्यो

काठमाडौँ । गत आर्थिक वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित भएको कर्जा ५.८ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैक तथा वित्तीय क्षेत्रबाट २७६ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा १७५ अर्ब ९४ करोड (३.८ प्रतिशत) ले प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ ।

२०८१ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा बैङ्क तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रतर्फ प्रवाह गरेको कर्जा ०.९ प्रतिशत मात्र भएको छ । यस अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैकको प्रतिवेदन अनुसार समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २२.२ प्रतिशतले, रियल स्टेट कर्जा (९.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा १८.१ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १२.६ प्रतिशतले बढेको छ ।

यस अवधिमा हायर पर्चेज कर्जा २२.० प्रतिशतले, ओभर ड्राफ्ट कर्जा ४६.३ प्रतिशतले र डिमान्ड तथा चालु पुँजी कर्जा १७.६ प्रतिशतले घटेको छ ।

सहुलियतपूर्ण कर्जा
नेपाल सरकारको ब्याज अनुदानमा बैङ्क तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८१ असार मसान्तमा कुल १ लाख २० हजार २७४ ऋणीलाई प्रवाह भएको छ । प्रवाहित रकममध्ये १२६ अर्ब ८२ करोड कर्जा बक्यौता रहेको छ ।

त्यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ३५६ ऋणीलाई ८६ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

महिला उद्यमशीलता कर्जा
सरकारको महिला उद्यमशीलता कर्जा कार्यक्रम अन्तर्गत ७१ हजार ८८३ महिला उद्यमीलाई ३८ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३५ ऋणीको १ अर्ब ६३ करोड कर्जा बक्यौता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button