तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज म्याराथनको १० औँ संस्करण मङ्सिर २२ मा

बाँके । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करण मङ्सिर २२ गरे शनिवार आयोजना हुने भएको छ ।

म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले दशौं संस्करणको मिति तय गरेको जनाएको छ । कर्णालीमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको समय नजिकिँदै गर्दा नेपालगन्ज म्याराथनको मिति केही पछाडि सारिएको बताइएको छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मङ्सिर २०६३ को स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिवार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष मङ्सिर २२ गते शनिवार हुनेछ ।

म्याराथन निरन्तरताको दशौं वर्षगाँठलाई आयोजक विशेष रुपमा मनाउने तयारी भएको आयोजकले जनाएको छ। दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनका लागि २०८१ भदौ १ देखि खेलाडी दर्ता खुला भइसकेको छ । प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), ५ किमी स्कुल स्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समूह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राई साइकल र ५ किमी वाकाथन समावेश गरिएको छ ।

स्कुल स्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

म्याराथनका क्रममा दुई दिने नेपालगन्ज कनक्लेभ र एक्स्पो आयोजना गरिने छ । साथै केही दौडसम्बन्धी प्रतियोगिता र अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत सञ्चालन गरिनेछ । एक दशकको यात्रा मनाउने क्रममा दश विभिन्न कार्यक्रम आयोजना गरिने र त्यसका बारेमा चाँडै कार्यक्रम सार्वजनिक गरिने आयोजकले जनाएको छ।

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भई सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ ।

यो बर्ष केही विधामा नगद पुरस्कार राशिमा वृद्धि गरिने र केही सरप्राइज प्याकेज पनि घोषणा गरिने आयोजकले जनाएको छ ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । हरेक दुई वर्षमा आयोजना हुने एम्सको २३ औँ वार्षिक साधारण सभामा नेपालबाट पहिलो पटक नेपालगन्ज म्याराथनले प्रतिनिधित्व गरेको थियो ।

यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button