तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ पहिरोमा परि ज्यान गुमाएका परिवारलाई चार लाख राहत दिने प्रदेश सरकारकाे घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परि ज्यान गुमाएका पीडित परिवारलाई ४ लाख राहत दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले आज शोक विज्ञप्ति मार्फत पहिरोमा परि चार जना आफन्त गुमाएका बझाङको बुङ्गल नगरपालिका १० का वीर बहादुर धामीका परिवारलाई राहत स्वरूप चार लाख नगद प्रदान गर्ने घोषणा गर्नु भएको हो ।

प्रदेश सरकारले पहिरोमा परि मृत्यु भएका आफन्तजनलाई जनही १ लाख दरले तत्काल राहत प्रदान गर्ने छ, विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री शाहले पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन समेत दिनु भएको छ । 

पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुख ब्यक्त गर्दै मुख्यमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

गएराती अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले घर पुरिदा वीर बहादुर धामीकी श्रीमती काली धामी, बुहारी गोल्की धामी, नातिनी आकृति धामी र लक्ष्मी धामीको मृत्यु भएको छ, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button