तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा आउने स्वदेशी तथा विदेश पर्यटकको तथ्याङ्क सङ्कलन गर्ने तयारी 

पोखरा । पर्यटनको राजधानी घोषणा भएको पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको तथ्याङ्क सङ्कलन हुने भएको छ । पोखरा महानगरपालिकाले सडक मार्ग हुँदै पोखरा आउने पर्यटकहरूको तथ्याङ्क सङ्कलन गर्ने अन्तिम तयारीमा रहेको पोखराका मेयर धनराज आचार्यले आइतबार एक कार्यक्रममा बताउनु भयो । 

पोखरा आउने पर्यटकहरूको हालसम्म कुनै निकायले पनि यथार्थ विवरण सङ्कलन नगरेकोले केही समय पश्चात् पोखरा आउने पर्यटकहरूको तथ्याङ्क सङ्कलन सहित उहाँहरूले पोखरामा चाहेको विषयलाई प्रश्नको रुपमा समेत राखिने भएको मेयर आचार्यले जनाउनु भयो । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा ट्रेकिङ पोटल गाइड (पथ प्रदर्शक) ट्रेनिङ २०८१ दुई हप्ते तालिमको आइतबार समापन गदै मेयर आचार्यले पोखरामा पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारको सहकार्यमा केही काम गर्न लागेको जनाउनु भयो । 

पथ प्रदर्शकले के कस्तो व्यवहार गर्नुहुन्छ, त्यसले नेपालको पर्यटन व्यवसाय जोडिएकोले अनुशासन हुन उहाँले आग्रह गर्नु भयो । नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथुम) लाई पोखरामा ल्याउन तथा त्यसको शाखा पोखरामा विस्तार गर्न सुझाव दिँदै मेयर आचार्यले आवश्यक सहयोग गर्ने बताउनु भयो । पोखरामा पद मार्गको संरक्षण गर्न रोयल ट्रेक पुनः मर्मत गर्ने उहाँले जनाउनु भयो । हरेक देशमा भएका बस्तुलाई पर्यटनसँग जोड्नुपर्नेमा मेयर आचार्यको जोड दिनु भयो । पोखरा सबै सिजनको गन्तव्य बनाउन पर्यटनको राजधानी घोषणा हुनुले मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । 

नाथुमका कार्यकारी निर्देशक सङ्गीता ओझाले पर्यटनमा स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नु भयो । पोखरामा उपयुक्त वातावरण भए नाथुमको शाखा बिस्तार हुन सक्ने उहाँले आशय व्यक्त गर्नुभयो । नाथुमले देशमा करिब ६२ हजार जनशक्ति उत्पादन गरेको ओझाको दाबी छ । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले गाइड पोटल पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । २०२५ मा पोखरामा १५ लाख पर्यटक भित्राउन स्वदेश र विदेशमा प्रचार प्रसार गर्न आवश्यक भएको उहाँले बताउनु भयो । परिषद्लाई जिम्मा दिए २० लाख पर्यटक भित्राउने अध्यक्ष श्रेष्ठले दाबी गर्नु भयो । 

पूर्व अध्यक्ष डम्मरबहादुर केसीले पोखरालाई पर्यटनको राजधानी घोषणा भए पनि नयाँ पर्यटन पूर्वाधार निर्माण नभएको गुनासो गर्नु भयो । 

तालबराही माविका प्राचार्य तारा पोखरेलले विद्यालयमा हस्पिटालिटि म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्दै आएको जनाउनु भयो । प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले मर्स्याङ्दी, दोर्दी लगायतका क्षेत्रमा पदमार्ग पहिचान गरिएकोले प्रवर्द्धन गर्न आग्रह गर्नु भयो । सचिव तीर्थराज सुवेदीले यस बर्ष २ सय २७ जनालाई प्रशिक्षण गराइएको बताउनु भयो । साउन र भदौ महिनामा टानले जनशक्ति उत्पादन तथा पर्यटन सम्बद्ध व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम सञ्चालन गर्दै आएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button