तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा अनुदानले दूध उत्पादनमा वृद्धि, ३ सय मेट्रिकटन दूध उत्पादन 

सल्यान । पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि सल्यानमा दूध उत्पादन बढेको छ । दूधमा प्रतिलिटर रु पाँचका दरले किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएपछि जिल्लामा दूध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताउनु भयो । 

गत आ.व २०८०/०८१ मा  २ लाख ६६ हजार ८ सय ९५ लिटर दूधमा अनुदान दिएको उहाँले बताउनु भयो । जसबाट किसानलाई अनुदान मात्र १३ लाख ३४ हजार ४ सय ७५ रुपैयाँ वितरण गरिएको छ । अनुमति प्राप्त डेरीमा किसानले दूध बिक्री गरेमा किसानले अनुदान पाउने उहाँको भनाई छ । अनुदान रकम किसानको खातामा सिधै जम्मा हुने महतले बताउनुभयो । 

सल्यानमा गत आर्थिक वर्षमा ३ सय मेट्रिकटन दूध उत्पादन तथा बिक्री भएको छ । ३ सय मेट्रिकटन दूध बिक्री हुँदा १ करोड ८० लाख रुपैयाँ किसानका हातमा परेको उहाँको भनाई छ । आर्थिक वर्ष २०७९/०८० मा २ सय २४ मेट्रिकटन दूध उत्पादन हुँदा किसानले १ करोड २३ लाख आम्दानी गरेका थिए । आ.व २०७९/०८० को तुलनामा आ.व २०८०/०८१ मा ७६ मेट्रिकटन दूध उत्पादनमा वृद्धि आएको छ ।

दूध उत्पादनलाई वृद्धि गर्न एक स्थानीय तह एक पशु सेवा उत्पादन कार्यक्रम अन्तर्गत कार्यालयले बागचौर, शारदा नगरपालिका, दार्मा, त्रिवेणी र कपुरकोट गाउँपालिकालाई दुग्ध पकेट क्षेत्रका रुपमा विकास गरेको छ । व्यावसायिक भैँसी तथा गाई पालन गर्ने किसानमा वृद्धि आउनु, नश्ल सुधार लगायतका कारण दूध उत्पादनमा वृद्धि आएको महतको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button