तपाईँ सुन्दै हुनुहुन्छः

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा आचार्य चयन

उपनेतामा भोजप्रसाद श्रेष्ठ र प्रमुख सचेतकमा तुलसी चौधरी र सचेतकमा यमुना रोका चयन

रुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन हुनुभएको छ ।

साउन ७ गते संसदीय दलका नेताबाट लिला गिरीले राजीनामा दिनुभएपछि आज बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

गिरीले यसअघि उपनेता रहनुभएका आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको थियो ।

आज बुटवलस्थित मुख्यमन्त्री निकासमा बसेको दलको बैठकले आचार्यलाई दलको नेता र उपनेतामा भोजप्रसाद श्रेष्ठलाई बनाउने निर्णय गरेको भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले प्रमुख सचेतकमा यसअघि पनि सोही पदमै रहनुभएका तुलसीप्रसाद चौधरीले जिम्मेवारी तोकेको छ भने सचेतकमा यमुना रोकाले जिम्मेवारी पाउनुभएको छ ।

शनिवारको बैठकमा एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल पनि सहभागी हुनुभएको थियो । शनिबार बिहानसम्म एमाले केन्द्रको निर्णयअनुसार लिला गिरीलाई नै दलको नेता मानेर जाने तयारी रहेको तर गिरीले त्यो प्रस्ताव नमान्नु भएपछि आचार्यलाई दलको नेता बनाइएको हो ।

दलको नेता बनेपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री आचार्यले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्ने जनाउनुभयो ।

“पार्टीको निर्णयअनुसार मुख्यमन्त्री बनेको हुँ, आज संसदीय दलको निर्णयअनुसार दलको नेता बनेको छु, भोजप्रसाद उपनेता हुनुभएको छ भने तुलसी चौधरी प्रमुख सचेतक र यमुना रोका सचेतक हुनुभएको छ, सोही जिम्मेवारीअनुसार कार्यसम्पादन गर्ने छौँ”, उहाँले भन्नुभयो ।

संसदीय दलको बैठकलेमा मुख्यमन्त्री आचार्यले ४ गते विश्वासको मत लिनुहुने भएकोले त्यसको तयारीका बारेमा पनि छलफल गरिएको जनाइएको छे ।

८७ सदस्यीय प्रदेशसभामा एमालेबाट २९ सांसद हुनुहुन्छ ।

एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

मुख्यमन्त्री आचार्यले मङ्गलवार विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ। विश्वासको मतअघि नै दलको नेता र प्रमुख सचेतकको टुङ्गो लगाएर दलको तर्फबाट विश्वासको मतका लागि हृवीप जारी गर्नुपर्ने अवस्था रहेकाले एमालेले आज दलको नेता टुङ्गो लगाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button