तपाईँ सुन्दै हुनुहुन्छः

सात वर्षदेखि थन्कियो एक्सरे मेसिन 

सल्यान  । सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत सात वर्ष देखि एक्सरे मेसिन थन्किएको छ । दक्ष जनशक्तिको अभावका कारण जडान गरेकै वर्षदेखि एक्सरे मेसिन प्रयोगमा नआई थन्किएको हो ।

नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन २०७४ मा युनिसेफले स्वास्थ्य मन्त्रालय अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्सरे मेसिन उपलब्ध गराएको थियो । युनिसेफले सहयोग गरेको मेसिन अहिलेसम्म प्रयोगमा आउन नसक्दा स्थानीय एक्सरे गर्नका लागि सल्यान जिल्ला अस्पताल तथा श्रीनगर बजारमा रहेका निजी अस्पताल धाउन बाध्य भएका छन्  ।

सात वर्षदेखि कोठामा थन्किएको एक्सरे मेसिन सञ्चालनमा आउन नसक्दा समस्या भएको स्थानीय र्दीघ पुनले बताउनु भयो । उहाँले भन्नु भयो ‘लामो समयदेखि डाक्टरविहीन रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आएपछि केही राहत भए पनि एक्सरे मेसिन र एम्बुलेन्स सञ्चालनमा आउन नसक्दा बिरामीले सास्ती खेप्नु परी रहेको छ ।’  एक्सरे मेसिन प्रयोगमा नआउँदा वडावासी मात्र नभई उपचारका लागि आउने झिम्पे, दहखोला, शारदा नगरपालिका–१३ स्यानीखालका बासिन्दा समस्यामा परेको पुनको भनाई छ । 

प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराका प्रमुख डा. राजन अधिकारीले मेसिनमा जोड्ने एक सानो सामग्री ल्याउन छुटेको भनेर त्यसबेला प्राविधिकले जडान गर्दागर्दै छाडेको र अहिलेसम्म त्यो सामग्रीको व्यवस्था गर्न नसक्दा सहयोग स्वरूप प्राप्त एक्सरे मेसिन सञ्चालनमा आउन नसकी कोठामा थन्किएको बताउनु भयो । 

छत्रेश्वरी गाउँपालिका–५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले स्वास्थ्य केन्द्रमा प्राविधिकको दरबन्दीसमेत नभएकाले एक्सरे मेसिन सञ्चालनमा आउन नसकेको बताउनु भयो । एक्सरे मेसिन सञ्चालनका लागि गत वर्ष प्रदेश सरकारलाई पत्र पठाए पनि कुनै चासो नदिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button