तपाईँ सुन्दै हुनुहुन्छः

सल्लाको खोटो सङ्कलनबाट ३२ लाख बढी राजस्व सङ्कलन

दाङ । सल्लाको खोटो सङ्कलनबाट दाङमा ३२ लाख बढी राजस्व सङ्कलन भएको छ ।

डिभिजन वन कार्यालय दाङले आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री बाट ३२ लाख ७३ हजार दुई सय ६९ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभयो ।  

सल्लाको खोटो बिक्रीबाट सङ्कलन भएको राजस्वमध्ये २७ लाख ९० हजार नौ सय रुपैयाँ सामुदायिक वन समूह र चार लाख ७२ हजार तीन सय ३९ रुपैयाँ प्रदेश सञ्चित-कोषमा जम्मा गरिएको छ ।  गत वर्ष जिल्लामा ७८ हजार केजी सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार २७ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । जिल्लामा सल्लाको खोटोबाट गत वर्षको तुलनामा यस वर्ष तेब्बर बढी राजस्व सङ्कलन भएको सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

जिल्लामा गत वर्ष सल्लाको खोटो सङ्कलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्वमा समेत वृद्धि भएको हो । अघिल्ला वर्षमा १० वटा समूहबाट खोटो सङ्कलन हुँदै आए पनि गत आर्थिक वर्षमा १९ वटा वन समूहबाट खोटो सङ्कलन भएको डिभिजन वन कार्यालय घोराहीले जानकारी दिएको छ ।  जिल्लामा खोटो सङ्कलन गर्ने क्षेत्रफल बढेसँगै राजस्वमा वृद्धि भएको सूचना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

सडक कालोपत्रे गर्ने तारपिन तेल र पेन्ट गर्ने रँग बनाउन आवश्यक सामग्रीमा सल्लाको खोटो कच्चा पदार्थका रूपमा प्रयोग हुने गर्दछ । कच्चा पदार्थका रूपमा प्रयोग हुने सल्लाको खोटो जिल्लाका विभिन्न सामुदायिक वनबाट गङ्गा रोजिन एण्ड टर्पिनटाइन कम्पनी बाँके र बुढाथोकी टर्पिनटाइन कम्पनी अमेलिया दाङले खोटो सङ्कलन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button