तपाईँ सुन्दै हुनुहुन्छः

बडिमालिका र बुढिनन्दाको धार्मिक तीर्थयात्रा प्रारम्भ

बाजुरा I धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । 

प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पूजाका लागि धार्मिक तीर्थयात्रा सुरु भएको हो। 

दुवै शक्ति पीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने धार्मिक मान्यता छ । सयौँको सङ्ख्यामा तीर्थयात्रीहरू केही दिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थाले पनि औपचारिक यात्रा बिहीबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ । 

बाजुराको तर्फ बाट सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलको नेतृत्वमा सरकारी टोली पूजा सामग्री सहित बडिमालिका प्रस्थान गरेको छ भने  बडिमालिका नगरपालिकाले पनि औपचारिक रूपमा नै सरकारी टोली बडीमालिका पठाएको छ । 

नगर उपप्रमुख नन्दाकुमारी थापा नेतृत्वमा टोली बडीमालिका तीर्थयात्रामा प्रस्थान गरेको हो । बडीमालिका नगरपालिकाले केही वर्षयता औपचारिक रूपमा सरकारी टोलीलाई नै बडीमालिका तीर्थ यात्रामा पठाउने गरेको छ । त्यो भन्दा पहिला डोटी र जुम्लाबाट मात्रै सरकारी टोली पूजा सामान सहित बडीमालिका यात्रा जाने गरेको थियो । 

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरी प्रस्थान गरेको हो । बुढीनन्दा नगरपालिकाले पनि सरकारी टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

बाजुराका बडीमालिका र बुढीनन्दालाई धार्मिक शक्ति केन्द्रका रूपमा पूजा पाठ गर्ने गरिएको छ । त्यो बाहेक, जनपूर्णिमाकै अघिल्लो दिन बाजुराका बढालेक, दुनालेक, डडुल्ली, सम्भुसुनन्दा, जुल्ठ्या सहितका दर्जन बढी धार्मिक शक्तिकेन्द्रमा पनि एकसाथ पूजा लाग्ने गरेको छ । 

मागेको वर पाइने र मनोकाङ्क्षा पुरा हुने धार्मिक  विश्वासका साथ धार्मिक शक्तिकेन्द्रमा भक्तजनहरूले पूजा पाठ गर्ने गरेका छन् । दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालिकोट, जुम्लासहित देशभरि र छिमेकी देश भारत बाट  पनि भक्तजनहरू बडीमालिकाको दर्शनका लागि आउने गरेका छन् । 

सत्ययुगमा भगवान् शिवले सतीदेवीको शरीरलाई संसार भर घुमाउने क्रममा पर्वत श्रृखलामा शरीरका अङ्गहरू खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मिक विश्वासका आधारमा पूजापाठ गर्ने गरिएको छ । 

बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालिकोटबाट सरकारी पूजा टोली बडीमालिका क्षेत्रमा पुगिसकेको छ । बडीमालिकामा परम्परादेखि नेपाल सरकारको नेतृत्व गर्दै बाजुरा जुम्ला, कालिकोट र डोटीबाट सरकारी टोली अनिवार्य उपस्थिति हुनु पर्ने चलन रहेको छ । 

 बडीमालिका मन्दिर’ चार हजार २सय१६ मिटर उचाइमा रहेको छ । पछिल्लो समय अध्ययन अनुसन्धान र घुमफिरका लागि समेत बडिमालिकामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button