तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महिलाका लागि बाँकेमा स्टोरी लेखन कार्यशाला सुरु

बाँके । पत्रकार महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला मङ्गलबारदेखि नेपालगन्जमा शुरु भएको छ ।

लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयका समाचार लेखनलाई प्रभावकारी र उद्देश्यमूलक बनाउन कार्यशाला आयोजना गरिएको हो । जसमा राज्यका हरेक संरचनामा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका सवाललाई स्टोरीमा रूपान्तरण गरिने छ ।

कार्यशालाको पहिलो दिन लैङ्गिक समता, समानता र सामाजिक समावेशीकरण लगायतका विषयमा विषयगत समाचार तयार गरिएको थियो छ । जसमा प्रदेश र स्थानीय तहमा रहेका लैङ्गिक, सामाजिक, महिला, बालबालिका स्वास्थ्य लगायत विषयमा छलफल भएको थियो ।

कार्यशालामा सहजीकरण गर्दै सञ्चारीका समूह लुम्बिनीका उपाध्यक्ष रुपा गहतराजले समाचारलाई प्रभावकारी बनाउन खोज तथा अनुसन्धानमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समाचारका स्रोत धेरै भए पनि विषयवस्तु पहिचान गर्न नसक्दा समाचारले सञ्चार माध्यममा प्राथमिकतामा पर्न नसकेको बताउँदै समाचारलाई गुणस्तरीय र पठनयोग्य बनाउन अध्ययन जरुरी भएको रहेको बताउनुभयो ।

कार्यशालामा सहजीकरण गर्दै सञ्चारीका समूह लुम्बिनीका महासचिव मेनका चौधरिले महिलाका विषयलाई महिला र दलितका विषय दलितले मात्रै उठान गर्नुपर्छ भन्ने गलत मान्यताका कारण पनि सामाजिक विषयवस्तु ओझेलमा परेको बताउनुभयो। उहाँले सबै क्षेत्रलाई सबैले आफ्नो विषय सम्झेर कलम चलाउन सके समाजले पत्याउने समाचार बन्न सक्ने बताउनुभयो ।

युएसएआइडी नागरिक समाज र सञ्चार कार्यक्रम अन्तरगत सञ्चारीका समूह नेपालले कार्यशाला आयोजना गरेको हो । मङ्गलवारदेखि सुरु भएको कार्यशाला ३ दिनसम्म चल्नेछ । सञ्चारीका समूह लुम्बिनीले बुटवल, दाङ र नेपालगन्जमा गरी ३ स्थलमा कार्यशाला आयोजना गरेको हो । जसमा दीपक ज्ञवाली, नारायणी रजौरे, दुर्गालाल केसी, रुपा गहतराज लगायतले सहजीकरण गर्नुभएको छ । कार्यशालामा कपिलवस्तु, बाँके र बर्दियाका १२ सञ्चारकर्मी महिलाको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button