तपाईँ सुन्दै हुनुहुन्छः

बाढि प्रभावित सिन्धुपाल्चोकको समस्या समाधान गर्ने मन्त्री दाहालको प्रतिबद्धता

सिन्धुपाल्चोक । भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहितको टोलीले सिन्धुपाल्चोकमा भएका विपद् तथा विकासका कामको अवलोकन गरेको छ । टोलीले मेलम्ची, हेलम्बु, खाडीचौर, जुरे, बाह्रबिसे, सुनकोशी, खाग दल, ब्वाँसेरी लगायतका स्थानमा विपद्को क्षतिको निरीक्षण गरेको हो ।

विपद्ले पुर्याएको क्षतिको निरीक्षण, विकास आयोजनाको अनुगमन तथा विकास आयोजनाको आवश्यकताबारे मन्त्री दाहालले जानकारी समेत लिनुभयो ।

अनुगमनको क्रममा मन्त्री दाहालले खाडीचौरमा वर्षौंदेखि निर्माणाधीन अवस्थामा अलपत्र रहेको पक्की पुल र बाह्रबिसे–त्रिपुरासुन्दरी जोड्ने सुनकोशी नदी पुलको अवलोकन गर्दै तत्काल बाँकी काम अगाडी बढाउन निर्देशन समेत दिनुभयो । सडक विभागका महानिर्देशक समेतको निरीक्षण टोलिले उक्त पुलको बाँकी काम तत्काल सम्पन्न गर्ने गरी आवश्यक प्रक्रिया सुरु हुने स्थानीयलाई विश्वस्त पारेको छ ।

गत असारमा आएको बाढीले बगाएको खाग दल खोलाको अवस्था समेत उक्त टोलीले निरीक्षण गरेको छ । नेपाल चीन बिचको मुख्य व्यापारिक नाका सम्मको उक्त अरनिको राजमार्गमा दुई साताभित्रै वेलिब्रिज निर्माण सम्पन्न हुने गरी काम अगाडी बढाउन मन्त्री दाहालले निर्देशन दिनुभयो । त्यस क्षेत्रका विभिन्न अवस्थाको जानकारी लिँदै मन्त्री दाहालले सिन्धुपाल्चोकका विकास आयोजनाका समस्या तत्काल समाधान गर्न आफूहरू लाग्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

विपद्को अवलोकन तथा विकास आयोजनाको अनुगमन पश्चात् सुनकोशी गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री दाहालले भर्खरै निर्माण भएको सरकार स्थायित्वको लागि निर्माण भएको र विकास र समृद्धिका लागि केन्द्रित हुने बताउनुभयो । मन्त्री समक्ष सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले स्थानीय सरकारले सञ्चालन गर्न नसकेका उद्यम विकास तथा विकास आयोजनाहरू सञ्चालनमा केन्द्र सरकारको सहयोगको अपेक्षा समेत राख्नुभयो ।

मेलम्ची हेलम्बु क्षेत्रको अवलोकन गर्दै मन्त्री दाहालले भौतिक पूर्वाधार मन्त्रालयबाट गर्ने सडक, पुल लगायतको काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिँचाइ लगायतका काम अन्य मन्त्रालयसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।

टोलीमा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रिय सदस्य, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, प्रदेश कमिटी सदस्य लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button