तपाईँ सुन्दै हुनुहुन्छः

कर वृद्धिको विरोधमा हेटौँडाका व्यवसायी आन्दोलित

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले गरेको कर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य सङ्घलगायत हेटौँडाका व्यवसायीहरू आन्दोलित भएका छन् । कर वृद्धिको विरोधमा सङ्घले आज पत्रकार सम्मेलन गर्दै पाँच दिने चरणबद्ध आन्दोलनको कार्यक्रम गर्ने जनाएको छ ।

उपमहानगरपालिकाले अस्वभाविक रुपमा कर वृद्धि गरेपछि बाध्य भएर आन्दोलनका कार्यक्रम गर्नुपरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताउनुभयो । कर वृद्धिको विरोधमा सङ्घले नगर सरकार खोज्दै मैनबत्ती जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउने सम्मको आन्दोलनका कार्यक्रम तय गरेको उहाँले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकाको गत असार ७ गते सम्पन्न १५औँ नगर सभाबाट राजश्वको दरमा वृद्धि गर्ने निर्णय गरेको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि बहाल करदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको छ । उक्त निर्णय गुपचुपमै भएको भन्दै व्यवसायीहरूले यसअघि नै उपमहानगरको ध्यानाकर्षण गराउँदै उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी सङ्घलगायतले कर वृद्धिको निर्णय फिर्ता लिन माग समेत गरेका थिए । तर ध्यानाकर्षण गराउँदा समेत उपमहानगरपालिकाले चासो नदेखाएकाले आन्दोलन गर्न बाध्य भएको सङ्घले जनाएको छ ।

सङ्घको नेतृत्वमा सोमबारबाट आन्दोलन सुरु गर्दै राजनीतिक दलका भातृ सङ्गठन र सहकारी संस्थाका प्रतिनिधिहरूसँग कर वृद्धिको विषयमा छलफल गर्नुका साथै व्यवसायी तथा व्यापारीको भेला आयोजना गरेर पत्रकार सम्मेलन मार्फत आन्दोलनको औचित्य, सङ्घको धारणा र सङ्घर्षका कार्यक्रमबारे जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष अग्रवालले व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था रहेको अहिलेको परिस्थितिमा कर वृद्धिले व्यवसायी थप मारमा पर्ने हुँदा यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

आन्दोलनका कार्यक्रम अन्तरगत भोली मङ्गलवार कर अवज्ञा गर्न व्यवसायी र नगरवासीलाई आह्वान गर्न सुरु गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने संघका उपाध्यक्ष उज्ज्वल चौलागाईंले बताउनुभयो ।

यस्तै बुधबार हेटौँडा बजारको बुद्ध चोकसँगै विभिन्न स्थानमा राजश्व वृद्धिको निर्णयविरुद्ध हस्ताक्षर सङ्कलन गर्ने, हेटौँडा उपमहानगरपालिकामा १ घण्टा धर्ना दिने, राजश्व वृद्धिको विरोधमा विभिन्न स्थानमा कालो ब्यानर राख्ने जनाइएको छ ।

यस्तै बिहीबार हेटौँडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने उपाध्यक्ष चौलागाईले बताउनुभयो । सङ्घर्षको कार्यक्रमअन्तर्गत शुक्रबार र्‍यालीसहित व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिकामा चाबी बुझाएर पहिलो चरणको आन्दोलनको कार्यक्रम समापन गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button