तपाईँ सुन्दै हुनुहुन्छः

करदाता सेवा कार्यालय उदयपुरबाट ५६ करोड ४४ लाख राजस्व सङ्कलन

उदयपुर । करदाता सेवा कार्यालय उदयपुर गाईघाटले आर्थिक बर्ष २०८०÷०८१ मा ५६ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ ।

व्यापार व्यवसाय र विकास योजनामा आएको आर्थिक मन्दीमा समेत करदाता सेवा कार्यालयले उक्त परिणाममा राजस्व सङ्कलन गरेको हो ।

करदाता सेवा कार्यालय गाईघाटका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक सबैमा गत सालभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आयकरतर्फ सेवा कार्यालयले सबैभन्दा बढी ३० करोड २४ लाख १५ हजार कर सङ्कलन गरेको सूचना अधिकारी रेक बहादुर मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले आव २०८०÷०८१ को एक बर्षे अवधिमा भ्याट बापत २३ करोड ३५ लाख ८० हजार, अन्तशुल्क बापत एक करोड ४८ लाख ८६ हजार, बहाल करमा ८९ लाख ५७ हजार र ब्याज कर बापत ४४ लाख ९९ हजार कर सङ्कलन गर्न सफल भएको छ ।

सरकारले पूँजीगत खर्च गर्न नसकेको कारण मूल्य अभिवृद्धि कर भ्याटमा भने केही कम राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय गाईघाटका कार्यालय प्रमुख कर अधिकृत राम बहादुर राईले जानकारी दिनुभयो ।

कार्यालयले स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर, अन्तशुल्क इजाजत तथा नवीकरण, कर सङ्कलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गर्दै आएको छ ।

वि.सं. २०६९ साल भदौ २६ गते गाईघाटमा स्थापना भएको करदाता सेवा कार्यालयले जिल्लाका विभिन्न ठाउँमा कर शिक्षा तथा कर शिविर सञ्चालन, बजार अनुगमन, जिल्लास्थित लेखा सम्बन्धी काम गर्ने कर्मचारीहरूसँग कर शिक्षा सम्बन्धी अन्तरक्रिया गर्ने लगायतका क्रियाकलाप गर्दै आएको छ ।

करदाता सेवा कार्यालय उदयपुर गाईघाटमा आर्थिक बर्ष २०८०÷०८१ मा १ हजार १ सय ४१ अन्तःशुल्क दाता, १५ हजार ७ सय १२ आयकर दाता, व्यक्तिगत परिचय पत्र दाता २९ हजार एक सय ६२, मु.अ.करदाता १८ सय २५ र WPAN दाता पाँच सय आठ जनामार्फत आर्थिक बर्ष २०८०÷८१ मा ५६ करोड ४४ लाख राजस्व सङ्कलन गरेको हो ।

आर्थिक बर्ष २०८०÷८१ मा करदाता सेवा कार्यालय उदयपुर गाईघाटले ९८.२८ प्रतिशत राजस्व उठाउने लक्ष्य राखेको थियो । कर कार्यालय गाईघाटले भने ७१.६४ प्रतिशत राजस्व उठाउन सफल भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button