तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो किस्ताकाे पखाईमा सल्यान दार्माका भूकम्प पीडित 

सल्यान । वि.स २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको सल्यान दार्माका दुई हजार  चार सय लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैनन् । 

भूकम्प गएको झन्डै नौ महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पखाईमा छन् । पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन् । 

भूकम्प पीडित अस्थायी आवास निर्माणका लागि ४ हजार ८१ लाभग्राही मध्ये हालसम्म पहिलो किस्ता बापतको १ हजार ६ सय ७४ घरधुरीले मात्र रकम पाएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनु भयो । 

संघीय सरकारले दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको ४ करोड २० लाखमध्ये १६७४ घरधुरीलाई २५ हजारका दरले वितरण गरिएको र बाँकी अपुग रकम संघीय सरकारसँग माग गरिएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘संघीय सरकारबाट निकासा रोकिदा भूकम्प पीडितलाई पहिलो किस्ता बापतको रकम हस्तान्तरण गर्न समस्या भएको छ ।’ 

साथै भूकम्प प्रभावितहरूका लागि स्थायी आवास निर्माणका लागि ४०७४ घरधुरीलाई प्राधिकरणमा सर्वदलीय निर्णय समिति सिफारिस गरि सकिएको पालिका अध्यक्ष केसीले बताउनु भयो । लाभग्राही मध्ये ६ जनाको कागजात नपुग्दा प्रक्रिया रोकिएको उहाँको भनाई छ । 

आफूसँग भएको थोरै पैसाले अस्थायी आवास निर्माण गरे पनि हालसम्म कुनै रकम उपलब्ध नभएको दार्मा गाउँपालिका ३ का भूकम्प पीडित डिल्ली बहादुर खत्रीले बताउनु भयो । वर्षातको समयमा अस्थायी घरमा बस्दा धेरै समस्या हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘जस्तापाताले बारेको घरमा बसी रहेका छौँ हावाहुरी लाग्दा, ठूलो पानी पर्दा झनै समस्या छ । अन्य समयमा भन्दा आजभोलि वर्षाको समयमा झनै गाह्रो भइरहेको छ ।  सरकारबाट आउने रकम पाए अलि गतिलो बस्ने घर बनाउन हुन्थ्यो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button