तपाईँ सुन्दै हुनुहुन्छः

दोलखा–सिंगटी सडक पहिरोले बगाएपछि दुई सातादेखि यातायात अवरुद्ध

दोलखा । पहिरोले अवरुद्ध भएको दोलखा–सिंगटी सडक दुई सातादेखि सुचारु हुन नसक्दा दोलखाको उत्तरी क्षेत्रमा रहेका तीन गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।

दोलखा–सिंगटी सडकको झर्मासी (गुमुखोला) खण्डमा साउन ३ गतेको पहिरोले आदि भन्दा बढी सडक बगाएपछि साउन १२ गतेदेखि उत्तरी क्षेत्रका यातायात अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

कालिञ्चोक गाउँपालिकाको वडा नम्बर–४ र ७ जोड्ने झर्मासी (गुमुुखोला) खोला पुलसंगैबाट झण्डै दुई सय मिटर सडक आधाभन्दा बढी बगाएपछि उत्तरी क्षेत्रका तीन पालिकाका बासिन्दालाई आवत जावतमा समस्या भएको कालिञ्चोक गाउँपालिकाका उपप्रमुख कुलबहादुर बुढाथोकीले बताउनुभयो ।

सडक मर्मतको लागि डिभिजन सडक कार्यालय चरिकोटले केही दिनअघि ठेक्कामार्फत काम सुरु गरे पनि द्रुत गतिमा काम अघि नबढेकोले अझै केही साता यातायात सुचारु नहुने अवस्था रहेकोले स्थानीय चिन्तित छन् ।

यातायात अवरुद्ध हुँदा तीन गाउँपालिकाको २२ वडाका झण्डै ५० हजार स्थानीय प्रभावित भएको र उत्तरी क्षेत्रका मुख्य व्यापारिक केन्द्र सिंगटी बजारको ढुवानी पूर्ण रुपमा ठप्प भएको दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले बताउनुभयो ।

यातायात ठप्प भएपछि झर्मासी खोलाबाट खाद्यान्न लगायतका सामान बोकेर वारिपारि गर्नुपर्ने अवस्था रहेको र यसले मूल्य अस्वभाविक रुपमा बढेर उपभोक्ताहरू मारमा परेको श्रेष्ठको भनाई छ ।

डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर भरत श्रेष्ठ सडक मर्मतको लागि कार्यालयले ठेक्कामार्फत काम सुरु गरेकोले एक÷डेढ हप्तामा अस्थायी रुपमा यातायात सञ्चालन गर्न सकिने बताउनुहुन्छ । उक्त क्षेत्रमा निक्कै जोखिम रहेकोले पूर्ण रुपमा सडक मर्मत गर्न भने लामै समय लाग्ने र त्यसको लागि थप अध्ययन गरी काम अघि बढाइने इन्जिनियर श्रेष्ठको भनाई छ ।

कालिञ्चोक गाउँपालिकाका उपप्रमुख कुलबहादुर बुढाथोकी भने उक्त क्षेत्रमा निक्कै जोखिम रहेकोले अहिले अस्थायी रुपमा यातायात सुचारु गरेर स्थायी समाधानको लागि अर्को विकल्पको अध्ययन हुनुपर्ने बताउनुहुन्छ ।

सिंगटी बजार पनि जोखिममा
कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ स्थित सिंगटी बजारको सडक खण्डमा माथिबाट पहिरो खसेकोले बजार समेत जोखिममा रहेको स्थानीय बताउँछन् । अविरल वर्षा कायम रहेर थप पहिरो खस्यो भने सिंगटी बजारसँगै चीन सरकारको सहयोगमा बनेको कालिनाग मावि सिंगटीको भवन, सिंगटी अस्पताल र विद्युतको हाईटेन्सन लाइनको तीन वटा टावर समेत उच्च जोखिममा पर्ने कालिञ्चोक गाउँपालिकाको उपप्रमुख कुलबहादुर बुढाथोकी बताउनुहुन्छ ।

जोखिमबारे डिभिजन सडक कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइएको तर चासो नदेखाएको उपप्रमुख बुढाथोकीको भनाई छ ।

पालिकाले पहिरो नियन्त्रणको काम गर्न सम्भव छैन, उपप्रमुख बुढाथोकीले भन्नुभयो – “यसको लागि डिभिजन सडक कार्यालय, माथिल्लो तामाकोशी आयोजना लगायतले चासो दिनुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button