तपाईँ सुन्दै हुनुहुन्छः

मल नपाएको किसानहरूको गुनासो

बारा । बाराका किसानले धानमा मल अभावको सामना गर्दै आएका छन् । किसानहरुले युरिया मल नपाएको गुनासो गरेका छन् ।

रासायनिक मल बिक्री गर्ने डिलर तथा सहकारीहरूमा युरिया मल छैन । केही सहकारीमा डिएपी मात्रै पाइने गरेको किसानहरू बताउँछन् । धानमा मल छर्ने बेला भइसक्दा पनि बजारमा युरिया नपाइएको बारा करैयामाई गाउँपालिका वडा नं.५ का किसान रामलाल चौधरीले गुनासो गर्नुभयो । तर कम्पनीको गोदाममा यती बेला डिएपी मात्रै थुप्रिएको छ ।

कृषि ज्ञान केन्द्र बाराका अनुसार बाली र सिजनअनुसार बारा जिल्लालाई वार्षिक ६१ हजार मेट्रिक टनभन्दा बढी डिएपी, युरिया र पोटास मलको आवश्यक छ । तर वार्षिक रुपमा करिब २८ प्रतिशत मात्रै आयात हुँदै आएको ज्ञान केन्द्र प्रमुख राजनारायण साहले जानकारी दिनुभयो । जिल्लामा हिउँदे र वर्षे गरी दुई सिजनमा ६२ हजार २० हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

यस बालीका लागि मात्रै १५ हजार ६६ मेट्रिक टन युरिया, ५ हजार ३९१ मेट्रिक टन डिएपी र ४ हजार ९२ मेट्रिक टन पोटास आवश्यक पर्ने गरेको ज्ञान केन्द्र प्रमुख साहले बताउनुभयो । आयातसँगै वितरण कार्यमा पनि व्यवस्थापन गर्नसके किसानलाई केही राहत पुर्‍याउन सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button