तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली जनावरले मकै बाली सखाप: किसान चिन्तित

सल्यान । दाना लाग्न नपाउँदै मकैबालीमा जङ्गली जनावरले नष्ट गर्न थालेपछि सल्यानका किसान चिन्तित बनेका छन् । वनजंगल नजिकका बस्तीमा किसानले लगाएका मकै तथा अन्य बालीनालीमा क्षति पुर्‍याउन थालेपछि किसानहरू निरास बनेका बनेका छन् । 

मिहेनतका साथ हुर्काएको मकै रातको समयमा आएर बँदेलले क्षति गरेपछि अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको  छत्रेश्वरी गाउँपालिका ५ का देवीलाल भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले देखि नै बाँदरले सधैँ सताउने गर्थ्यो खरायो, दुम्सीले पनि बालीनाली खाइदिन्थ्यो । यो वर्षदेखि मेरो बारीमा  बँदेलले पनि  क्षति गर्न थाल्यो ।’ यो बर्ष आफ्नो ६ वटा बारीमा मकै रोपेकोमा मकैमा घोगा लाग्न नपाउँदै बँदेलले क्षति सुरु गरिसकेको उहाँको भनाई छ । 

जङ्गली जनावरले बारीमा लगाएको सबै बालीनाली सखाप पार्न थालेको अर्का किसान संगीता बस्नेतले बताउनु भयो । जङ्गली जनावरले मुख्य बाली मकैमा बदेलले नोक्सानी पुर्‍याएपछि  वडामा पुगेर क्षतिपूर्तिका लागि माग गरेको उहाँले बताउनु भयो ।  आफूहरूले बर्सेनि भोग्ने समस्याको दीर्घकालीन समाधानको माग गरिएको उहाँको भनाई छ ।

प्रहरी मुचुल्का, कृषि विकास शाखाको क्षतिको मुलयांकन, वडाको सिफारिस लगायतका आधारमा डिभिजन वन कार्यालय मार्फत १० हजार रुपैयाँसम्म किसानले राहत प्राप्त गर्ने गरेको सब डिभिजन वन कार्यालय छत्रेश्वरीका फरेस्टर कमल बोहोराले बताउनुभयो ।

कृषि बालीमा जनावरले क्षति गरेमा नजिकैको प्रहरीबाट सर्जिमिन मुचुल्का, कृषि प्राविधिकको क्षति मूल्याङ्कन सहित जग्गा धनी पुर्जा, नागरिकता, क्षतिको फोटो सहित सब डिभिजन बन कार्यालयमा पीडित किसानले निवेदन दिएपछि उक्त फाइल डिभिजन बन कार्यालय सल्यान हुँदै प्रदेश वन निर्देशनालय सुर्खेतले सङ्घीय मन्त्रालयमा पेश गरेर बजेट व्यवस्था भएपछि मात्र क्षतिको आधारमा यससम्बन्धी कार्यविधि बमोजिम १० हजार रुपैयाँसम्म राहत उपलब्ध हुने गरेको बोहराको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button