तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानबाट ३ करोड बढीको खोटो निकासी

सल्यान । सल्यानबाट गत आर्थिक वर्षमा ३ करोड बढीको खोटो निकासी भएको छ । जिल्लाको विभिन्न सामुदायिक वनबाट ३ करोड १७ लाख ७० हजार रुपैयाँको खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।


कार्यालयका अनुसार गत आ।व। २०८०/०८१ मा २ हजार ५ सय ४२ मेट्रिक टन खोटो निकासी भएको छ । जसबाट विभिन्न सामुदायिक वनको खातामा २ करोड २६ लाख ९३ हजार रुपैयाँ जम्मा भएको डिभिजन वन कार्यालय सल्यानका कार्यालय प्रमुख जीतेन्द्र महतले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लामा विभिन्न ६ खोटो कम्पनीले काम गर्दै आइरहेका छन्। उहाँले भन्नुभयो “निकासी भएको खोटोबाट प्रदेश सञ्चित कोषमा ३८ लाख ६० हजार, समूहको खातामा २ करोड २६ लाख ९३ हजार,निकासी कर १२ लाख ७१ हजार र मूल्य अभिवृद्धि कर ३९ लाख ४६ हजार रुपैयाँ सङ्कलन भएको छ ।”


आर्थिक वर्ष २०७९/०८० मा सल्यानका सामुदायिक वनले २६ लाख ९८ हजार ५ सय ६८ किलो खोटोबाट २ करोड ७५ लाख २५ हजार ३ सय ९९ रुपैयाँ आम्दानी गरेका थिए ।
वन समूहहरूले कुल आम्दानीको २५ प्रतिशत हुन आउने रकम वन व्यवस्थापनकै क्षेत्रमा खर्च गर्नु पर्दछ । डढेलो नियन्त्रण, वृक्षारोपण, झाडी सरसफाइ, हाँगा कटान लगायतका कार्यमा लगानी गर्नु पर्ने कार्यालय प्रमुख महतले बताउनु भयो । दश स्थानीय तह रहेको सल्यानमा ६ सय २३ वटा सामुदायिक वन रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button