तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षणको अभावमा कञ्चन दानापुर ताल

रुपन्देही । कन्चन गाउँपालिकाका स्थानीय बल बहादुर थापा अहिले ५५ वर्ष पुगे । आज भन्दा करिब ३५ वर्ष अघि उनले देखेको एक तालको अस्तित्वको खासै महत्व भने थिएन् । तर, अहिले यो तालले एउटा पालिकाको मात्र होइन प्रदेशलाई नै चिनाउने चिनारी बनेको छ । यो लुम्बिनी प्रदेशमा रहेको कञ्चन दानापुर ताल हो । शान्त वातावरण, हरियाली वनजंगल चराहरूको चिरबिर सँगै तराईको समथर भूगोलको एउटा खोँच जहाँ ठूलो ताल रहेको छ । तराईको उखरमाउलो गर्मीमा आत्तिएका जीवजन्तु, प्राणी जगत सबैले शीतलता पाउने ठाउँ जहाँ कमलका फुलहरू लोभलाग्दो गरी बसेको सङ्लो पानी माथिको प्रतिचित्र वर्णन गरि साध्य छैन ।


दन्ते कथाहरूमा उल्लेख गरेझैँ सुन्दर तलाउ, जहाँ मानिस पुगेपछि सबै रोग, भोक र तनाबबाट मुक्त हुन्छ भने झैँ रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा रहेको गजेडीको वन, वनको विचमा रहेको कञ्चन दानापुर ताल । तालमा फुलिरहेका छन् हजारौँ कमलका फुलहरू । कमलको फुलहरू बिचमा चरा हिँडिरहेका र तालमा माछाहरू पौडिरहेका दृश्य जत्ति हेरे पनि आँखा थाक्ने कुरा त परै जाओस् बरु मन लालायित भएर आउँछ । यो स्थल मानिस, चराहरू र जलचरहरूको लागि प्रिय बन्दै गएको छ यस्तो लाग्छ २४सै घन्टा त्यही बिताईरहू ।


कञ्चन गाउँपालिका वडा न-१ मा रहेको यो ताल १९ हेक्टरमा फैलिएको छ । वन सहित कुल ९२ हेक्टरमा फैलिएको कञ्चन दानापुर ताल १ सय ५० बर्ष पुरानो ताल मानिन्छ । यो रुपन्देहीकै सबैभन्दा पुरानो ताल हो ।


पर्यावरणको हिसाबले पनि यो ताल महत्त्वपूर्ण मानिन्छ । यहाँ करिब ८४ प्रजातीका चराहरू पाइने त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र विभागले गरेको एउटा अध्ययनले देखाएको छ । यस्तै यो ताल पानीमा पाइने वनस्पतिहरूको लागी पनि धनी भएको सरकारले गरेको एक अध्ययनले देखाएको छ । तालमा ३३ प्रजातीका वनस्पतिहरू पाइने गर्छ ।
कञ्चन दानापुर ताल जलचर (माछा लगायतका पानीमा पाइने प्रजाति) हरुको लागी राम्रो बासस्थान पनि हो । तालमा चेलवा, धवई, भोटी, पाते सिद्रा, गाई सिद्रा, पडेनी लगायतका स्थानीय प्रजातिका माछा र हाँस, बकुल्ला, बट्टै, तित्रालगायत लोपोन्मुख चराको उपस्थिति रहन्छ ।


स्थानीय बल बहादुर थापा भन्नुहुन्छ, अहिले तालमा पहिला भन्दा धेरै जातीका चराहरू आउने गरेका छन् ।
कञ्चन दानापुर ताल रुपन्देहीमा पिकनिक खेल्न जानेहरूका लागी रोजाइ बन्ने गरेको देखिन्छ । तालको वरिपरि बन क्षेत्र भएका कारण पनि पिकनिक खेल्नेहरूका लागी यो ताल रोजाइ बन्ने गरेको हो । ताल र वन क्षेत्रको संरक्षण अहिले समयमाई सामुदायिक वन समितिले गर्दै आएको छ ।


समितिले तालमा माछा पालन गर्दै आएको छ । र पिकनिक खेल्न आउने सँग शुल्क पनि लिने गरेको छ । जसबाट समितिले आम्दानी गर्ने गरेको छ । समितिका कोषाध्यक्ष ज्ञान बहादुर थापा भन्छन् समितिले वार्षिक रुपमा १० लाख माछा उत्पादन र ५ लाख पिकनिक बाट आम्दानी गर्दै आएको छ ।


तर ऐलानी जग्गामा भएको तथा कुनै पनि सरकार मातहत नरहेको कारण बजेट अभाव भएको र विकासका काम ठप्पै भएको थापाले भन्नुभयो । उहाँले भन्नुभयो हामी यसै वर्ष देखि स्थानीय सरकार मातहतमा रहने तयारीमा गई तालको विकासको लागि पहल गर्ने छौ ।


राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमबाट विगतमा करिब १ करोड पचास लाख रुपैयाँ आएको थियो तर मात्र ५० लाख रुपैयाँ बजेट हामीले प्रयोग गर्न पायौ बाँकी रकम यत्तिकै फ्रिज भयो थापाले भन्नुभयो ।


ताल क्षेत्रको विकासको लागी कञ्चन गाउँपालिकाले पहलकदमी लिन चाहे पनि ऐलानी जग्गा पर्ने भएका कारण गर्न सकेको छैन । गाउँपालिकाले यसै आर्थिक बर्ष देखि ताललाई पालिका मातहत ल्याएर ताल क्षेत्रको विकासको लागी काम गर्ने बताइएको छ।
कञ्चन गाउँपालिका वडा नं १ का अध्यक्ष हरि नारायण थारु भन्छन् ताल क्षेत्रको विकासको लागी पालिका, लुम्बिनी प्रदेश सरकार र नेपाल सरकार सँग समन्वय गर्ने काम वडाले गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष नवराज ढकाल दानापुर ताल कञ्चन गाउँपालिकाकै महत्त्वपूर्ण पर्यटकीय स्थल रहेको र गाउँपालिकाले आफु मातहत ल्याएर बृहत्तर रुपमा बिकास गर्न चाहेको बताउनुहुन्छ ।

कञ्चन दानापुर ताल लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी देखि करिब १७ किमी उत्तरमा रहेको छ । यस क्षेत्रमा वार्षिक रुपमा करिब १० हजार आन्तरिक तथा बाह्य पर्यटक भ्रमणको लागी अहिले आउने गरेका छन् । ताल क्षेत्रको बिकास गरेर लुम्बिनी आउने पर्यटकलाई यस क्षेत्र सम्म पुर्‍याउन सके पर्यटकीय बिकास हुने सम्भावना देखिन्छ । यस तालको संरक्षण गरी पर्यापर्यटकहरुलाई निम्त्याउन सके यस क्षेत्रको विकासमा थप बल पुग्ने देखिन्छ । मात्रै १७ कि मि को दुरीमा रहेको लुम्बिनीमा आउने पर्यटकलाई समेत लक्षित गरी कार्यक्रम गर्न सके यस क्षेत्रको विकासमा थप टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button