तपाईँ सुन्दै हुनुहुन्छः

पढ्ने बानी बसाल्न सामुदायिक विद्यालयमा पुस्तकालय

सल्यान । स-साना बालबालिकाहरूमा पठन संस्कृतिको विकास गर्न सल्यानका सामुदायिक विद्यालयहरूमा बालमैत्री पुस्तकालय स्थापनालाई तीव्र पारिएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकामा पठन सीप वृद्धि गराउने र पढ्ने बानीको विकास गर्ने उद्देश्यले बालमैत्री पुस्तकालय स्थापना गर्ने काम भइरहेको हो । 

विद्यालय पुस्तकालयमा विद्यालय पुस्तक, सामान्य ज्ञान, विभिन्न खालका अङ्ग्रेजी र नेपाली भाषाका शब्दकोश, पत्रपत्रिका तथा मानवीय रुचिका पुस्तक सहजै रूपमा पाइने भएकाले बालबालिकाले फुर्सदको समयमा पुस्तकालयको सदुपयोग गर्ने गरेको पुस्तकालय स्थापना गरेका सामुदायिक विद्यालयले जनाएका छन् । आजभोलि कक्षा १, कक्षा २ र कक्षा ३ का बालबालिकाले पुस्तकालयमा पुग्ने र स्तरअनुसारका बालपुस्तक, विषयवस्तुमा आधारित बालपुस्तक छानिछानी पढ्ने गरेको पाइएको छ ।

रुम टु रिड, सल्यानले जिल्लाका-६ पालिका शारदा नगरपालिका, बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाका विद्यालयमा पुस्तकालय स्थापना गरिएको रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिनु भयो । जिल्लाका १ सय २२ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको र यसै बर्ष थप २५ विद्यालयमा पुस्तकालय स्थापना हुने उहाँको भनाई छ ।  । विद्यालयमा पुस्तकालय स्थापना भएपछि विद्यालयमा अध्ययनरत बालबालिकाको पढ्ने बानीमा सुधार आएको वलीको दाबी छ ।

राष्ट्रिय माध्यमिक विद्यालय दार्माकोटका शिक्षक डम्बर बहादुर रोकायले पुस्तकालयले बालबालिकामा पढाई तर्फ जागरूक हुन प्रेरणा दिएको बताउनुभयो । उहाँले भन्नुभयो भर्खर अक्षर चिनेका बालबालिकाका लागि पुस्तकालयबाट नयाँ कुरा सिक्ने थलो बनेको छ ।

सिद्ध आधारभूत विद्यालय फलाबाङका शिक्षिका रिता वली रावतले विद्यालयमा अध्ययनरत ९८ जना बालबालिकाका लागि ८ सय बढी पुस्तक पुस्तकालयमा राखिएको बताउनुभयो । ‘बालबालिकाको कक्षाअनुसार स्तरीकरण गरेर पुस्तक राखेका छौँ, हप्तामा एक दिन पुस्तकालय घण्टी नै बनाएका छौँ, आफ्नो रुचि, चाहाना, सिकाईको स्तरअनुसारको पुस्तक छानेर बालबालिकाले बढ्ने गरेका छन्’ ।  उहाँले भन्नुभयो । 

त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले विद्यालयमा पुस्तकालय स्थापना भएपछि बालबालिकाले आफूहरूसँग नभएका पुस्तक पुस्तकालयमा आएर पढ्न थालेको बताउनुभयो । ‘अहिले पालिकाभित्रका १६ वटा विद्यालयमा पुस्तकालय छ, हामीले बाँकी १२ वटा विद्यालयमा पुस्तकालयले स्थापना गर्ने योजना बनाएका छौँ’ उहाँले भन्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button