तपाईँ सुन्दै हुनुहुन्छः

एसइईको ग्रेडवृद्धि परीक्षामा २ हजार ८ सय ९७ जना सहभागी हुने

अछाम । माध्यमिक शिक्षा परीक्षा (एसइई २०८०) को ग्रेडवृद्धि परीक्षा अन्तर्गत अछामबाट २ हजार ८ सय ९७ जना सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई अछामका अनुसार यही श्रावण २३ गतेदेखि सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा १ हजार ३ सय १६ जना छात्र र १ हजार ५ सय ८१ जना छात्रा गरि २ हजार आठ सय ९७ जना सहभागी हुन लागेका हुन ।

माध्यमिक शिक्षा परीक्षा (एसइई २०८०) को ग्रेडवृद्धि परीक्षामा सबैभन्दा बढी विद्यार्थी अनिवार्य गणित विषयमा रहेका शिक्षा विकास तथा समन्वय इकाई अछामका सूचना अधिकारी सुरेन्द्र बजगाईले जानकारी दिनुभयो । सूचना अधिकारी बजगाईँका अनुसार अनिवार्य अङ्ग्रेजीमा १ हजार ७ सय ९६ जना, नेपालीमा ८ सय ५९ जना, विज्ञानमा १ हजार २ सय ६१ जना र सामाजिकमा ८ सय ४ जना परीक्षार्थी रहेका छन् ।

यसैगरी ऐच्छिक विषयहरू अर्थशास्त्रमा ८ सय ५६, लेखामा २ सय २३, गणितमा ३९ जना, जनसङ्ख्यामा १० जना, वातावरणका २ जना, शिक्षामा ५७ जना, स्वास्थ्यका १४ जना, कम्प्युटरका ५६ जना, कृषिका ३४ जना र प्राविधिक धारतर्फका परीक्षार्थी ४२ जना रहेका छन् ।

ग्रेडवृद्धि परीक्षाका लागि जिल्लाभरिमा सबै विद्यार्थिहरुका लागि विभिन्न ८ वटा विद्यालयहरूमा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । जसमा षोडशादेवी मावि मङ्गलसेन, राधा मावि बोगटीगाउँ, जनकल्याण मावि साँफेबगर, सूर्यचन्द्र मावि कालीमाटी, कालिकेश्वरी मावि तुर्माखाँद, नेरा मावि चाफामाण्डौ, विद्यामन्दिर मावि विनायक र जाल्पादेवी मावि ढाँकु रहेका छन् । ग्रेडवृद्धि परीक्षालाई शान्तिपूर्ण, मर्यादित र सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि आवश्यक प्रबन्ध मिलाइएको भन्दै सूचना अधिकारी बजगाईले सबैले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button