तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीद्वारा पदभार ग्रहण

रुपन्देही । लुम्बिनी प्रदेशका चौथो प्रदेश प्रमुखको रुपमा रोल्पाका कृष्णबहादुर घर्तीले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । सङ्घीयता कार्यान्वयनयता ७ वर्षमा लुम्बिनीले ४ जना प्रदेश प्रमुख पाएको छ । संविधानले प्रदेश प्रमुखको कार्यकाल पाँच वर्ष भने पनि केन्द्रमा सरकार परिवर्तन हुनासाथ प्रदेश प्रमुख पनि फेरिने गरेका छन् । 

२०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारको पालामा उमाकान्त झा पहिलो प्रदेश प्रमुख बन्नुभएको थियो । २०७६ कार्त्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले झालाई हटाएर धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउनु भएको थियो । त्यसपछि बनेको देउवा सरकारले यादवलाई हटाएर २०७८ साल साउन १३ गते अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउनुभएको थियो । साउन १४ गते केपी ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर रोल्पाका कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाएको हो ।

बिहीबार राष्ट्रपतिसमक्ष शपथ लिनुभएका घर्तीले शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार सम्हाल्नुभएको हो । त्यसअघि उहाँलाई मुख्यमन्त्री चेतनारायण आचार्य, मन्त्री भूमिश्वर ढकाल, प्रदेश प्रमुख कार्यालयका सचिव बेदप्रसाद खरेल तथा अन्य कर्मचारीले कार्यालयमा स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button