तपाईँ सुन्दै हुनुहुन्छः

पनाहा खोलामा बन्यो पक्की पुल,नागरिकहरूलाई सहज

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकाको पनाहा खोलामा  पक्की पुल निर्माण भएको छ । पक्की पुल नहुँदा बर्सौँ देखि सास्ती खेप्दै आएका यस भेगका नागरिकहरूलाई सहज भएको छ । 

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ र इस्मा गाउँपालिकाको वडा नम्बर–२ पालुखा जोड्ने पक्की पुल निर्माण भएको छ । पक्की पुल नबन्दा वर्षातको समयमा इस्माको पालुखा लगायत जैसी थोक, धुर्कोट सम्म पुग्नका लागि जोखिम मोल्नुपर्ने अवस्था रहेको थियो । अझै मुख्य समस्यामा पालुखा वासी परेका थिए । वर्षातको समयमा बिरामी तथा बृद्धहरुलाई जोखिम मोलेरै खोला तर्दा कैयौँ सवारी साधानहरु डुबानमा पर्ने गरेका थिए । अहिले पनाघाट खोलामा पक्की पुल बनेसँगै यहाँका नागरिकहरूलाई वषौंदेखि खोलामा जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय स्नेहा नेपालीले बताउनुभयो । 

सडक डिभिजन कार्यालय पाल्पा मार्फत २०७६ साल असोज १२ गते उक्त पुल निर्माणको सम्झौता भएको थियो । पुलको  समयमै निर्माण हुन नसक्दा एक पटक म्याद थपेर २०८१ साल असार मसान्तमा पुल निर्माणको काम सम्पन्न भएको हो ।३५ मिटर लम्बाई रहेको पुलको ५ करोड ६ लाख ५ हजारको लागतमा महादेव खिम्ती श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गाप्रसाद गौतमले बताउनुभयो ।

पुलको निर्माणको काम सम्पन्न भए पनि अझै ३९ लाख रकम बजेट अभावमा निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button