तपाईँ सुन्दै हुनुहुन्छः

नागढुंगा-मुग्लिङ सुरुङ मार्ग समयमा नै सक्ने मन्त्री दाहालको प्रतिबद्धता

file photo

काठमाडौँ । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकले नागढुंगा सुरुङ मार्ग र नागढुंगा मुग्लिङ सडक खण्डको प्रगतिबारे सरोकारवालासँग छलफल गरेको छ । 

सिंहदरबार स्थित समितिमा आज भएको छलफलमा भाग लिनुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा मुग्लिङ सुरुङ मार्गले नेपालको सुरुङ युगको सुरुवात गरेकाले यसलाई समयमा निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

मन्त्री दाहालले सुरुङ निर्माणका क्रममा चर्किएका घरहरूलाई क्षतिपूर्ति दिनुका साथै अन्य जग्गाको समस्यामा भूगर्भविद् र जिल्ला प्रशासन कार्यालयले दिएको अध्ययन प्रतिवेदनका आधारमा सम्बोधन गरिने बताउनुभयो । 

छलफलमा सांसदहरुले नागढुंगा सुरुङमार्ग र मुग्लिङ सडक खण्डमा भएका समस्यालाई तत्काल सम्बोधन गरी निर्माण सम्पन्न गर्नुपर्ने, निर्माण कम्पनीलाई जिम्मेवार बनाई म्याद थप्ने काम गर्न नहुने आफ्नो धारणा राख्नुभयो ।  

सरकारी कार्यालयमा बिग्रेका सवारी साधनलाई बिक्री गरी राज्यलाई फाइदा पुर्‍याउनुपर्ने, सडक यात्रालाई सुरक्षित बनाउन चालकलाई तालिम दिनुपर्ने, डबल चालकको व्यवस्था गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यसैगरी सांसदहरुले नागढुंगा सुरुङ मार्गको कार्य सन्तोषजनक रहेको र यसलाई कायम राख्नुपर्ने भन्दै सडक खण्ड निर्माणमा भने ध्यान कम गएको बताउनुभयो । 

राम्रा काम गर्ने निर्माण व्यवसायीको सूची प्रकाशित गर्नुपर्ने, राजमार्गमा अनुगमनका कार्यलाई तीव्रता दिनुपर्नेमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

समितिका सभापति दिपक बहादुर सिंहले सुरुङमार्ग क्षेत्रका जनताका मागलाई पुरा गरी राष्ट्रिय गौरवको आयोजनालाई पूर्णता दिन आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button