तपाईँ सुन्दै हुनुहुन्छः

बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रादेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलवार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

कुल ११० प्रदेश सभा सदस्य मध्ये बहुमतको लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री लामाको पक्षमा कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिनुभएको हो ।

प्रदेशसभाको बैठकमा उपस्थित कूल १०३ सदस्यमध्ये लामाको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ । बैठकमा ३ सांसद अनुपस्थित हुनुभयो भने सभामुख मत विभाजनमा सहभागी हुनुभएन ।

गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले साउन १२ गते सरकारलाई पूर्णता दिनुभएको थियो ।

मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्रीले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button