तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीका ५५३ जनालाई लालपुर्जा वितरण

रुपन्देही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीय बासीलाई लालपुर्जा वितरण गर्नुभएको छ ।

मन्त्री अधिकारीले सोमवार रुपन्देहीको सियारी गाउँपालिकाको ४ वडामा रहेका १९ वटा गाउँ ब्लकहरूको नापी नक्सा पूरा भएका ५५३ वटा लालपुर्जा वितरण गर्नुभएको हो । लालपुर्जा पाएपछि ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरू अत्यन्त खुसी भएका छन् । वर्षौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पीडाबाट मुक्ति पाएको लालपुर्जा प्राप्त गरेपछि स्थानीयले बताएका छन् ।

त्यस अवसरमा मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउनुहुँदै भूमिहीनको समस्या स्थायी रुपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले पाँच लाख भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले लामो समयदेखि पालिकामा समस्याका रुपमा रहेको स्थानीयले पुर्जा पाएपछि धेरै सहज भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button