तपाईँ सुन्दै हुनुहुन्छः

गत आवमा मनास्लु संरक्षण क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ८१ पशुचौपाय मरे

गोरखा । गोरखाको मनास्लु क्षेत्रमा गत आर्थिक वर्ष २०८०÷८१ मा वन्यजन्तुको आक्रमणबाट ८१ वटा घरपालुवा पशुचौपाय मरेका छन् ।

चुमनुव्री गाउँपालिका वडा नम्बर १, ३, ४ र ७ मा गरी कुल ७५ घरधुरीका ८१ वटा पशुचौपाय वन्यजन्तुको आक्रमण परि मरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ ।

आयोजनाका अनुसार ४३ वटा याक÷चौरी, ३३ वटा घोडा, गाई र गोरु २÷२ वटा र एउटा भेडा मरेका हुन् ।

ब्वाँसोले ५३, हिमचितुवाले २३ र भालुले ५ वटा पशुचौपाय मारेको एमक्यापको तथ्याङ्कमा उल्लेख छ । जसबापत कार्यालयले ९ लाख २२ हजार रुपैयाँ क्षतिपूर्ति रकम तिरेको आयोजना प्रमुख सन्तोष शेरचनले बताउनुभयो ।

“वन्यजन्तुले पालिकाको चार वटा वडामा व्यक्तिको गोठमा समेत क्षति पुर्‍याएर पुशचौपायलाई आक्रमण गरेको देखियो”, उहाँले भन्नुभयो, “सम्बन्धित धनीहरूलाई प्रति पशुचौपाया ८ देखि २० हजारको दरले क्षतिपूर्ति रकम प्रदान गरेका छाँै ।”

गर्मीयाममा चरनका लागि पशु चौपायालाई लेक लैजाने क्रममा वन्यजन्तुले बढी आक्रमण गर्ने गरेको शेरचनले बताउनुभयो । “एउटै चौरी÷भेडालाई ५०–६० हजार पर्न जान्छ”, प्रमुख शेरचनले भन्नुभयो, “पुरै मूल्य दिन त सम्भव हुँदैन, तर राहत स्वरूप केही रकम उपलब्ध गराउने गरेका छौँ ।”

एक वर्षको अवधिमा ८१ वटा पशुधनमाथि आक्रमण हुनु दुखद रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button