तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा आज हरेली संक्रान्ति मनाइँदै

डडेल्धुरा । डडेल्धुरा सहित सुदूरपश्चिममा आज ‐मंङ्गलबार) हरेली संक्रान्ति मनाइँदै छ । संस्कृतिका जानकारहरूका अनुसार हरियाली शब्द सँग जोडिएको हरेली भन्नाले कृषि कर्म सँग सम्बन्धित छ । 

संस्कृतिका जानकार रमेश पन्तले किसानहरुले खेतमा लगाएका अन्नहरूमा कुनै पनि रोग व्याधि नलागोस्, उत्पादन बढोस्, भकारी भरियोस् भनेर हरेक साउन १ गतेको साँझ पख गरा तथा खेतको आलि र विचमा मेल तथा नास्पातीका हाँगाहरू गाड्ने प्रचलन रहेको जानकारी गराउनु भयो । 

उहाँका अनुसार सुदूरपश्चिम र भारतको उत्तराखण्डमा समेत हरेलो गर्दा सात प्रकारका अन्न, गहुँ, जौ,मकै, गहत , तोरी, भटमास आदि रोपण गरि रितपूर्वक हरेलो हाल्ने प्रचलन रहेको छ । 

स्थानीय  भक्तराज भट्टले आफूले सानैदेखि हरेलो हाल्दै आएको र यो वर्ष पनि हरेलो हाल्ने तयारी थालिएको बताउनु भयो । कुनैकुनै खेतहरू घरबाट आउँ-जाऊँ गर्नु पर्दा घण्टौँ सम्म हिँडेर जानुपर्छ तर पनि हरेक बर्ष हरेलो हाल्दै आएकोले यो बर्ष पनि हरेलो हाल्ने उहाँको भनाई छ ।

पछिल्लो समय कृषि क्षेत्रमा आबद्ध व्यक्तिहरू कम हुँदै गएकोले अब खेतीपाती पनि न्युन मात्रामा हुँदै आएको कतिपय किसानहरूको दुखेसो छ । 

सुदूरपश्चिममा आजदेखि मठ-मन्दिरहरुमा बातो बाल्ने महिनाको सुरुवाती भएको मानिन्छ भने यस बर्ष विवाह गरेका चेलीहरू यो महिनाभर माइतमा बस्ने प्रचलन पनि छ । 

शास्त्र अनुसार यस दिनदेखि सूर्य उत्तरी गोलार्धबाट दक्षिणी गोलार्ध तर्फ प्रवेश गर्ने भएकाले उत्तरायण सकिएर दक्षिणायन शुरुहुने तथा दिनहरू छोटो र रातहरू लामो हुँदै जाने विश्वास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button