तपाईँ सुन्दै हुनुहुन्छः

हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल गरेको छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल थालेको बताउनुभएको छ ।

प्रतिनिसभाको आजको बैठकमा सांसद सोविता गौतमले राख्नुभएको ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वाससमेतमा असर परेको हुँदा तत्काल सुधार गरी विश्वसनीयता बढाउन आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलका उठेका प्रश्नको जवाफमा मन्त्री पाण्डेले हवाई सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र कामकाजी निकायका रुपमा छुट्याउनका लागि सांसदका तर्फबाट प्राप्त भएको सैद्धान्तिक सहयोगप्रति धन्यवाद दिनुभयो । प्राधिकरणलाई विभाजन गर्ने सम्बन्धी दुई वटा विधेयकलाई समयानुकूल रुपमा मस्यौदा गर्न आवश्यक पहल तथा प्रक्रिया शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । नागरिक उड्डयनसँग सम्बन्धित अन्य कानुन निर्माणका लागि पहल थालिसकेको र त्यसमा जोडिएर आउने बीमालगायत विषयलाई समेत सम्बोधन गरिने बताउनुभयो ।

हवाई दुर्घटनाका सम्बन्धमा छानबिनका लागि स्थायी संयन्त्र स्थापनाका लागि सरकारका तर्फबाट आवश्यक तदारुकता देखाइएको र त्यसका लागि कानुनी प्रबन्धसमेत हुने मन्त्री पाण्डेले सदनलाई जानकारी गराउनुभयो । विगतमा हवाई दुर्घटना छानबिनका लागि गठित समितिले दिएका सुझाव र प्रतिवेदनमाथि थप अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्न लागिएको उहाँको भनाइ छ ।

यस्तै, भैरहवाको गौतमबुद्ध विमानस्थल एवं पोखरा क्षेत्रीय विमानस्थलको सहज सञ्चालनका लागि सरकारले आवश्यक कार्ययोजना आगडि बढाइएको उल्लेख गर्नुभयो । उक्त प्रस्तावमाथिको छलफलमा सांसद उदय शम्सेर जबरा, हितबहादुर तामाङ, अब्दुल खान, सञ्जयकुमार गौतम, राजेन्द्र बजगाईँले, अनिसा नेपाली, मैना कार्की, सुदन किराँती, विरेन्द्रप्रसाद महतोलगायतका सांसदले भाग लिनुभएको थियो । यस्तै, बैठकले संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधनप्रति श्रद्धाञ्जली अर्पण शोक प्रस्ताव पारित गरेको छ ।

मधेशी जनअधिकार फोरम, नेपालका तर्फबाट अग्रवाल २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिक सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो । हाल जनता समाजवादी पार्टी, नेपालमा आवद्ध अग्रवालको गत साउन २१ गते निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button