तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीयताको अनुभूति गर्नेगरि प्रदेश सरकारले काम अगाडि बढाएको छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सङ्घीयताको संस्थागत विकाशका लागि जनताले सङ्घीयताको अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गर्न चाहेको बताउनु भएको छ ।

मुख्यमन्त्री सिंहले प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीको प्रथम पुण्य तिथिको अवसरमा जनकपुरधामको वडा नंं २३ बेलामा आज वृक्षारोपण अभियानको शुभारम्भ गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले केही गलत व्यक्तिका क्रियाकलापका कारणले सङ्घीयतालाई बदनाम गराउने कुचेष्टा भएपनि जनताको घर दैलोमा सेवा सुविधा प्रदान गर्ने संघीय गणतन्त्र जस्तो अरू कुनै शासन व्यवस्था नभएकाले सङ्घीयताको पक्षमा कलम चलाउनका लागि पत्रकारहरूलाई आग्रह गर्नु भयो । 

मुख्यमन्त्री सिंह नकारात्मक कुराहरूलाई मात्र समाचारको विषय बनाएको खण्डमा सिङ्गो समाज नै नकारात्मक बन्ने भएकाले सकारात्मक शोचका साथ पत्रकारिता गर्नका लागि आग्रह पनि गर्नु भयो । 

उहाँले स्वर्गीय राजेश्वर नेपालीले सधैँ लोकतन्त्र तथा गणतन्त्रका लागि सङ्घर्ष गर्नु भएको बताउँदै उहाँको निर्भिक पत्रकारिता अहिलेका युवा पुस्ताका पत्रकारहरूका लागि प्रेरणाको श्रोत भएको बताउनु भयो । मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन, प्रभावकारी सेवा प्रवाह तथा रोजगारी सृजना गर्ने पक्षमा वर्तमान सरकार लागि परेको दाबी गर्नु भयो । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं २३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री सिंहले वरको वृक्ष रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गर्नु भएको थियो । 

जनकपुरधाम–भिठामोड ४ लेन विद्यापति सडक खण्डको जनकपुरधामको वेला पुल देखि महोत्तरीको बनौली मोडसम्म आँप तथा चम्पाको फूल गरेर ४ सय ५० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले जानकारी दिनु भयो ।       

प्रतिक्रिया राख्नुहोस्

Back to top button