तपाईँ सुन्दै हुनुहुन्छः

महको बजारीकरणका समस्या समाधान गर्ने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मौरीपालक किसानका समस्या, महको बजार विस्तार र आयातित महका कारण आन्तरिक उत्पादन खपतमा देखिएको अवरोध हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कृषि मन्त्रालयमा आज चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित मौरीपालक व्यवसायी तथा सरोकारवाला प्रतिनिधिले गरेको भेटमा उहाँले किसानको अहितमा हुनेगरी कुनै पनि निर्णय नगरिने विश्वास दिलाउनुभयो ।

“मह नबिकेर थन्किएको बारे मलाई जानकारी भयो, हामी फेरि पनि यस विषयमा सबै निकायलाई बोलाएर बृहत् छलफल गर्छौं”, छलफलमा मन्त्री अधिकारीले भन्नुभयो, “मन्त्रालयगत र सरोकार राख्ने निकायबीचको छलफलले एउटा निष्कर्ष दिन्छ ।”

भेटघाटमा चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मन्त्री अधिकारीलाई नेपाली महको बजारीकरण बिना बाहिरी महको आयात नखोल्न अनुरोध गर्दै कालिका व्यावसायिक मौरी पालनका हिसाबले देशकै उत्कृष्ट नगरपालिका रहेको जानकारी गराउनुभयो ।

उक्त पालिकामा वार्षिक छ करोडभन्दा बढीको मह उत्पादन हुने गरेको जानकारी दिँदै प्रमुख रेग्मीले उत्पादित महमध्ये ७५ प्रतिशतभन्दा बढी जङ्गली स्रोतको रहेको बताउनुभयो ।

सो क्रममा नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले नेपाली महको खपतका लागि उचित व्यवस्थापन नगरेसम्म बाहिरको मह आयात गर्न नहुनेमा ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यदि ल्याउनै पर्ने अवस्था आएमा भन्सार दर बढाउनुपर्नेमा जोड दिनुभयो । सो क्रममा मौरीपालक किसानका समस्या समेटेर उहाँहरूले मन्त्री अधिकारीलाई ध्यानाकर्षण पत्र समेत बुझाउनुभएको छ ।

मौरीपालक व्यवसायीका अनुसार सरकारले अहिले मह आयात रोकेकाले स्टक रहेको मह बजारमा जाने क्रम बढे पनि अझै दुई हजार मेट्रिकटन मह घरघरमै थन्किएर बसेको सो क्रममा जानकारी गराइएको थियो ।

आजको छलफलमा कृषि सचिवसहित नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालक केन्द्रीय सहकारी सङ्घ, मह व्यवसायी सङ्घ, डाबर नेपालका प्रतिनिधि तथा मौरी र महसम्बन्धी विभिन्न क्षेत्रमा सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button