तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो तीन अर्ब भन्दा बढीको बजेट 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/२०८२ का लागि ३ अर्ब ३ करोड ३२ लाख ४० हजारको आय व्यय सहितको बजेट ल्याएको छ । 

उपमहानगरपालिकाको १२ औँ अधिवेशनमा आज उपप्रमुख किशोरी साहले पेश गर्नु भएको अनुमानित आय व्यय सहितको बजेटमा चालु तर्फ २ अर्ब ६ करोड ३४ लाख ८९ हजार तथा पूँजीगत तर्फ ९६ करोड ९७ लाख ५१ हजार विनियोजन गरिएको उल्लेख रहेको छ । 

चालु तर्फको शीर्षक बजेटमा सामाजिक सुरक्षा वापतको ५० करोड र यू आर एल आई पी प्रोजेक्टको ४७ करोड समावेश गरिएको नगर उपप्रमुख साहले पेश गर्नु भएको बजेटमा उल्लेख रहेको छ । 

प्रस्तुत गरिइएको बजेटको श्रोतको रुपमा जनकपुरधाम उपमहानगरपालिकाको आन्तरिक श्रोतबाट २१ करोड ७२ लाख ७३ हजार, घर जग्गा रजिष्ट्रेशन दस्तुर बापत १५ करोड, नेपाल सरकारको राजश्व बाँडफाँडबाट २० करोड ९६ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट १ करोड ८८ लाख ८५ हजार, नेपाल सरकारको समानिकरण अनुदान बापत ३१ करोड ४४ लाख, प्रदेश सरकारको समानिकरण अनुदानबाट २ करोड ४३ लाख ७ हजार, बैङ्क मौज्दातबाट ३८ करोड र सडक बोर्ड नेपालबाट १ करोड १९ लाख ९८ हजार बेहोरिने उल्लेख रहेको छ ।

प्रस्तुत गरिएको बजेटले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने, नगरको भौतिक पूर्वाधार विकासलाई गति प्रदान गर्ने, आम नगरवासीलाई गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने र लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षा मार्फत विभेदयुक्त समाजको निर्माण गर्ने उल्लेख रहेको छ । 

यसै गरि बजेटले रोजगारी सृजना र गरिबी न्यूनीकरण टेवा पुर्‍याउने, पर्यटन प्रवद्र्धन गरी नगरलाई आकर्षक पर्यटनको गन्तव्यस्थल बनाउने, सुशासन प्रवद्र्धन तथा संस्थागत सबलीकरणमा जोड दिने, कृषि उद्योगको विकास र उद्यमशीलताको प्रबद्र्धन गर्ने, स्वच्छ, सुन्दर, सरसफाइयुक्त नगरको विकास गर्ने, साझा, सुन्दर, समृद्ध हरित सहर बनाउने, ग्रामीण सडक तथा पुलको निर्माण गर्ने लक्ष्य लिएको छ । 

प्रस्तुत गरिएको बजेटले ग्रामीण विद्युतीकरण गर्ने, विद्युत् सेवा प्रवाह, ग्रामीण इन्टरनेट सेवा विस्तार गर्ने र नव प्रवर्तन, नीजि साझेदारी योजना सञ्चालन गर्ने लक्ष्य पनि लिएको छ । 

नगरका सभाका अध्यक्षको आसनबाट नगर प्रमुख मनोज कुमार साहले प्रस्तुत भएको नीति तथा कार्यक्रम सहितको बजेटले जनकपुरधामको विकास निर्माणमा गति पुग्नुका साथै सुन्दर, स्वच्छ जनकपुरधामको निर्माणमा मद्दत पुग्ने आशा व्यक्त गर्नु भयो । नगरसभामा नगर सचिव एवं प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादव सहितको नगर सभाका सदस्यहरूको सहभागिता रहेको छ । 

नगरसभाले आर्थिक वर्ष २०८१/२०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम सहितको बजेट आजै पारित गर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत तथा लेखा प्रमुख नभएका कारणले नगरसभा गर्नमा ढिलाई भएको उपमहा नगरपालिकाले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button