तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश: पौने दुईलाख भन्दा बढी बालश्रमिक

जनकपुरधाम । मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा विद्यालय पहुँचभन्दा बाहिर रहेका करिब पौने दुई लाख भन्दा बढी बालबालिकाहरू बालश्रममा रहेको पाइएको छ ।

प्रदेशका अधिकांश जिल्लाहरूमा विद्यालय पहुँचभन्दा बाहिर रहेका ५ वर्ष देखि १७ वर्ष उमेर समूहका वालश्रमिकको सङ्ख्या १ लाख ७२ हजार रहेको पाइएको हो  । आसमान नेपालले मधेश प्रदेशका सञ्चारकर्मीहरुसंग आज जनकपुरधाममा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा रहेका बाल श्रमिकको सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

बालश्रमिकहरु मध्ये शहरी क्षेत्रमा मात्र १२.४ प्रतिशत रहेका छन् भने ग्रामीण क्षेत्रमा बाल श्रमिकको सङ्ख्या तुलनात्मक रुपमा कम अर्थात् ९.८ प्रतिशत रहेका बालश्रम बारे कार्यपत्र प्रस्तुत गर्दै आसमानमा सुनुवाईका परियोजना संयोजक दिपेन्द्र तिवारीले जानकारी दिनुभयो । गरिबी तथा अशिक्षाका कारणले वालश्रमिक मध्ये ३.४ प्रतिशत अर्थात् ५० हजार ९ सय ३२ जना बालश्रमिकहरु जेखिम पूर्ण कार्यमा संलग्न रहेका छन् । सबै बालबालिकाहरूलाई दिउँसोको समयमा विद्यालय पठाउन सकेको खण्डमा वालश्रमिको सङ्ख्यामा आफै कमी आउने भएकाले यस तर्फ सम्बद्ध सबै निकाय लाग्न जरुरी रहेको उहाँले बताउनुभयो ।

मधेश प्रदेशमा विद्यालय बाहिर भएका २१ प्रतिशत बालबालिकाहरूलाई विद्यालय पठाउन सकेको खण्डमा बाल श्रमिकको सङ्ख्यामा आफै कमी आउने आसमान नेपालका कार्यक्रम व्यवस्थापक मनिराम आचार्यले जानकारी दिनुभयो ।

मधेश प्रदेशका जिल्लाहरूमा विद्यालय जाने उमेर समूहका बालबालिकाको सङ्ख्या १४ लाख ९८ हजार रहेको जानकारी दिँदै बालश्रममा लागेकाहरूलाई कसरी विद्यालय पठाउने त्यो चुनौतीपूर्ण रहेको आसमानका सुशासन सल्लाहकार एवं पूर्व स्थानीय विकास अधिकारी गुरु सुवेदीले जानकारी दिनुभयो ।

उहाँले बालश्रममा कमी ल्याउनका लागि बालमैत्री स्थानीय शासन आवश्यक भएको बताउँदै त्यसका लागि योजना सहितको बालबालिकाको क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले बालमैत्री शासन तथा बालश्रममा कमी ल्याउनका यसमा नै कलम चलाउँदै आएको पत्रकारहरूलाई थप प्रोत्साहित गर्न आसमान नेपाल जस्तो संस्थाहरूले सोच्न जरुरी रहेको बताउनुभयो । आसमानका मधेश प्रदेशका संयोजक खिलानाथ निरौलाले जोखिम पूर्ण श्रम सहित अन्य श्रममा लागेका बालबालिकाहरूलाई विद्यालय पठाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button