तपाईँ सुन्दै हुनुहुन्छः

इलेक्ट्रोनिक पसल छोडेर व्यावसायिक कुखुरा पालनमा रमेका श्रेष्ठ 

सल्यान । धेरै जसो युवायुवतीहरू देशमा भविष्य छैन भन्दै विदेश पलायन भइरहेका छन् । राज्यले स्वदेशमा बसेर केही गरौँ भन्ने वातावरण नबनाएको भनी रहँदा सल्यानका एकजनाले भने इलेकट्रोनिक पसल छोडेर व्यावसायिक कुखुरा पालनमा रमाइरहनु भएको छ । सल्यान त्रिवेणी गाउँपालिका -६ लुहामका अर्जुन श्रेष्ठले मासिक झन्डै चार लाख आम्दानी गर्दै आइरहनु भएको छ । 

इलेक्टोनिक पसलमा भविष्य नदेखे पछि कृषि पेसामा आबद्ध भएको उहाँको भनाई छ । लुहाम बजारको आफ्नै घरमा लामो समयसम्म इलेक्ट्रोनिक पसल सञ्चालन गर्नु भएको थियो श्रेष्ठले । तर प्रविधिको विकास हुँदै जाँदा पसलबाट सोचेजस्तो प्रतिफल आउन छोडेपछि कुखुरा पालनमा जोडिएको उहाँको भनाई छ । विगत १० वर्षदेखि गण्डकी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर कुखुरा पालनमा लाग्नुभएका उहाँलाई पहिलो गासमै ढुङ्गा जस्तै भएको थियो कुखुरा पालन । उहाँले भन्नु भयो ” पसलबाट आम्दानी हुन छोडेपछि कुखुरा पालनमा लागियो तर पहिलो वर्ष नै कुखुरा मर्दा र अण्डाले  बजार भाउ नपाउँदा ६लाख घाटा हुन पुग्यो । “

पहिलो वर्ष नै ६ लाख घाटा लागेपनि हरेस नखाई उहाँ निरन्तर कुखुरा पालनमा लागि रहनु भयो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले अनुदान दिएपछि घाटालाई केही कमी गर्न मद्दत पुग्यो र कुखुरा पालनलाई निरन्तरता दिन थाल्नु भयो । 

अण्डा बिक्रीबाट मासिक ३ लाख बढी आम्दानी

व्यावसायिक लेयर्स जातका कुखुरा पालन गर्दै आउनु भएका श्रेष्ठसँग अहिले झन्डै दुई हजार कुखुरा छन् । जसले दैनिक १७ देखि १८ सय अण्डा दिँदै आइरहेका छन् । यो वर्ष अण्डाले बजार पाउँदा निकै राहत मिलेको उहाँको भनाई छ । फर्मबाट नै प्रति क्यारेट ५ सयका दरले बिक्री भइरहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो  “दैनिक १७ सय अण्डा मात्र बिक्री भयो भने १२ हजार दैनिक आम्दानी हुन्छ ।” यो वर्ष अण्डाले बजार मूल्य पनि राम्रो पाएको छ । अण्डा बिक्री हुँदैन की भनेर यो वर्ष बजारको चिन्ता लिनु नपरेको उहाँको भनाई छ । “बजारको माग अनुसार अहिले अण्डा पु¥याउन धौ धौ भइरहेको छ । “उहाँले भन्नु भयो । 

३५ लाख लगानी गर्नु भएका श्रेष्ठले कृषि पेसालाई निरन्तरता दिई राखेमा त्यसबाट प्रतिफल पाउन समस्या नहुने बताउनु भयो । व्यावसायिक अण्डा उत्पादनमा लागेका श्रेष्ठलाई त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको कृषकको उत्पादन गाउँपालिकाको अनुदानले पनि निकै राहत दिएको छ । पालिकाकाले प्रतिअण्डा ५० पैसा उपलब्ध गराउँदै आइरहेको छ । उहाँले भन्नु भयो कृषिलाई नै मुख्य पेसा बनाएका किसानलाई पालिकाले पनि सहयोग गर्दै आइरहेको छ । उहाँ यो वर्ष पालिकाको उत्कृष्ट कृषकबाट सम्मानित समेत हुनु भएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button