तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब 

जुम्ला । चालु आर्थिक वर्षको खाता बन्द हुन एक हप्तामात्रै बाँकी रहँदा जुम्लाका स्वास्थ्यकर्मीहरुले अझै तलब पाएका छैनन् । बजेट निकासा नहुँदा जुम्लाका अधिकांश पालिकाका स्थायी स्वास्थ्यकर्मीले तलब खान नपाएका हुन् । 

जसअन्तर्गत चन्दननाथ नगरपालिकाका स्वास्थ्यकर्मीहरुले विगत पाँच महिनादेखिको तलब पाएका छैनन् । चालु आर्थिक वर्ष ०८०/०८१ को खाता बन्द (क्लोजिङ) हुन एक साता मात्रै बाँकी रहेको अवस्थामा तलब भत्ता पाउने अवस्था नरहेको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताउनुभयो ।

अहोरात्र खटिएर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीले लामो समयसम्म तलव भत्ता नपाउनु दुखद पक्ष हो । उहाँले भन्नुभयो,‘चन्दननाथ नगरपालिकाका स्थायी २९ जनाले तलब पाएका छैनौ । करार स्वास्थ्यकर्मीले भने पाई सकेका छन् । ०८० फागुन महिनादेखि तलव भत्ता पाएका छैनौ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीलाई समयमै तलब भत्ता नदिनु अन्याय हो ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थायी स्वास्थ्यकर्मीका लागि अपुग तलव भत्ता जेठ २८ गते माग गर्दा पनि अर्थ मन्त्रालयले चालु आर्थिक बर्ष समाप्त हुन लाग्दा पनि रकम निकासा नपठाएको उहाँको भनाई छ ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बजेट निकासा नआएकोले स्वास्थ्यकर्मीको तलव भत्ताको उपलब्ध गराउन सकिएको बताउनुभयो । उहाँका अनुसार असार २० गतेसम्म निकासा आउने भनिएको छ । आउने बित्तिकै एकै पटक पाँच महिनाको तलव भत्ता उपलब्ध गराइने छ । 

उता तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाईले करार ४१ जना स्वास्थ्यकर्मीले तलब भत्ता पाइसकेको र स्थायीले नपाएको बताउनुभयो । पालिकामा कार्यरत स्थायी ३३ जना स्वास्थ्यकर्मीका लागि ८८ लाख बजेट अभाव भएपछि तलब भत्ता नपाएको उहाँको भनाई छ । चालु आवको खाता बन्द हुने समय नजिकिँदै गर्दा बजेट निकासा आउने सुरसार छैन । यद्यपि, स्वास्थ्यमन्त्रालय हुँदै अर्थमन्त्रालयसम्म बजेट निकासाको लागि पहल गरिरहेको स्वास्थ्य शाखा संयोजक चौलागाईले उल्लेख गर्नुभयो । तातोपानीका स्वास्थ्यकर्मीले चैतदेखि यताको तलब पाएका छैनन् । 

त्यस्तै गुठिचौर गाउँपालिकाका स्थायी १८ जना स्वास्थ्यकर्मीले तलब नपाएको स्वास्थ्य संयोजक बालाराम नेपालीले बताउनुभयो । उहाँका अनुसार ९ जना करार स्वास्थ्यकर्मीले भने तलब पाइसकेका छन् । ४०/५० लाख रकम अभाव भएको र निकासा ढिला आउँदा समस्या भएको बुझिएको छ । 

यता हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले भने पालिकाका सबै स्वास्थ्यकर्मीले तलब भत्ता पाइसकेको बताउनुभयो । यो सिंजा कनकासुन्दरी,पातारासी र कनकासून्दरी गरी जिल्लाभरिका गरी करिब दुई सय स्वास्थ्यकर्मीले तलब नपाएको बुझिएको छ । चालु आर्थिक वर्षको खाता बन्द हुने समय नजिकिँदा तलब भत्ताको बजेट निकासाका लागि पहल गर्न समेत स्वास्थ्यकर्मीहरुले पालिका प्रमुखहरूलाई माग गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button