तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका २१ खेलाडी र प्रशिक्षक सम्मानित

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकहरूलाई प्रोत्साहनसहित सम्मान गरेको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडी र प्रशिक्षकहरूलाई शुक्रबार मन्त्रालयमा एक कार्यक्रमबीच नगदसहित सम्मान गरिएको हो ।

खेलाडीहरूलाई सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गर्दै आएको दाबी गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुप्रै लगानी गरेको उहाँको भनाई थियो ।

मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीहरूलाई समेट्ने प्रयास गरिएको दाबी गर्नुभयो । उहाँले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको उहाँको भनाई छ ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले जीविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको बताउनु भयो । २१ जना खेलाडीहरूलाई जनही २० हजार नगद सहित सम्मान गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button