तपाईँ सुन्दै हुनुहुन्छः

खुल्ला सडक दौडको उपाधि सशस्त्र प्रहरीका रावललाई

झापा । दमकमा आज सम्पन्न १० किलोमिटर लामो खुला सडक दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावलले जित्नुभएको छ । बैतडी घर भई हाल सशस्त्र प्रहरीमा कार्यरत रावलले ३१ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पार गरि उक्त उपाधि जित्नुभएको हो ।

यसैगरि बझाङ घर भई सशस्त्रकै करण रावलले ३१ मिनेट ४६ सेकेण्डमा दोस्रो, ओखलढुङ्गाका मिङमारसिंगी तामाङ (३२ मिनेट २० सेकेन्ड) मा तेस्रो, चौथोमा तेह्रथुमका विज्ञान लिम्बूले (३३ मिनेट २४ सेकेन्ड), पाँचौँमा भारतका विवेक क्षेत्री (३३ मिनेट ५७ सेकेन्ड) र छैटौँमा भोजपुरका पवन राई (३४ मिनेट ४२ सेकेन्ड) हुनुभयो ।

मानव हित संरक्षण मञ्चले आयोजना गरेको पर्यटन प्रवर्द्धनका निम्ति दमकदेखि कमलसम्म १० किलोमिटर खुला सडक दौड प्रतियोगिताकै महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ३९ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरि प्रथम बन्न सफल हुनुभयो । यसैगरि ४५ मिनेट १२ सेकेण्डमा भोजपुरकी विनीता राई दोस्रो, भोजपुरकै जुही राई (४५ मिनेट ५० सेकेन्ड) तेस्रो, पाँचथरकी पुष्पा शेर्मा लिम्बू (४८ मिनेट ५० सेकेन्ड) चौथो हुनुभयो । यस्तै, भोजपुरकी जुली राई (४८ मिनेट ३४ सेकेन्ड) पाँचौँ र इलामकी यमुना लिम्बूले ५१ मिनेट ३३ सेकेण्डमा निर्धारित १० किलोमिटर दुरी पूरा गरि छैटौँ स्थान प्राप्त गर्न सफल भएकी प्रतियोगिताकी संयोजक समुन्द्रा लामाले जानकारी दिनुभयो । महिला र पुरुष दुवैतर्फ प्रथम हुनेलाई नगद रु ५० हजार, दोस्रोलाई रु २५ हजार, तेस्रोलाई रु १५ हजार, चौथोलाई रु ५ हजार, पाँचौँलाई रु ३ हजार र छैटौँलाई नगद रु २ हजार प्रदान गरियो ।

उहाँका अनुसार स्थानीय पुरुषतर्फ पाँच किलोमिटर दौडमा सरोज सिंह प्रथम, ओसन राई दोस्रो, पवनकुमार साह तेस्रो, सुमन भण्डारी चौथो र केशव थापा पाँचौँ हुनुभयो । महिलातर्फ सुनकला राई प्रथम, नुसा लिम्बू दोस्रो, समीक्षा परियार तेस्रो, अनुसा धिमाल चौथो, मनिका मुर्मु पाँचौँ र युनिशा लिम्बू छैटौँ बन्नुभयो । सो दौडको महिला र पुरुषतर्फ पहिलोलाई रु १५ हजार, दोस्रोलाई रु १०हजार, तेस्रोलाई ५ हजार, चौथोलाई रु २ हजार र पाँचौँलाई रु १ हजार नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरियो ।

मानव हित संरक्षण समाजका अध्यक्ष पदम घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले गर्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री हरिबोल गजुरेल, प्रदेश बन राज्यमन्त्री वन्दना झाँगड, माओवादी कोशी प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर आङवो लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button