तपाईँ सुन्दै हुनुहुन्छः

‘जनताले अनुभूति गर्ने गरि प्रदेश संरचनाको विकास भइरहेको छ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी तिन वर्षभित्र जनताले अनुभूति गर्नै गरि प्रदेश संरचनाको विकास हुने बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित कोशी प्रदेशका उत्कृष्ट महिला लघु उद्यमी पुरस्कार वितरण कार्यक्रममा उहाँले सङ्घीयताको मर्मअनुसार बनेको प्रदेश संरचनालाई थप व्यवस्थित गर्ने गरि काम भइरहेकाले केही वर्षभित्रै त्यसको अनुभूति जनताले गर्न पाउने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकको आर्थिक विकासका लागि घरेलु उत्पादनमा जोड दिँदै घरेलु तथा लघु उद्योगको विस्तार र बजारीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उद्योगमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गुणस्तर र प्याकेजिङमा समेत ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उत्पादित वस्तुहरूको बिक्री वितरणका लागि नमुना कोसेली घर तथा उद्योगी व्यवसायीहरूको माग अनुसार विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निमार्णका लागि निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

कोशी प्रदेशका राज्यमन्त्री सृजना राईले उद्योग कृषि तथा पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले आगामी आर्थिक वर्षदेखि कोशी प्रदेशका १४ वटै जिल्लाका घरेलु तथा साधान उद्योग मार्फत महिला उद्यमीका लागि अनुदानमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा उद्योग कृषि तथा सहकारी मन्त्रालयकाका महाशाखा प्रमुख पशुपति पोखरेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुंदडा तथा राष्ट्रिय लघु उद्यमी महासङ्घका महासचिव लक्ष्मण बुढाथोकीले घरेलु तथा लघु उद्योगको विकासमा जोड दिनुभयो ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेशका १४ जना उत्कृष्ट महिला उद्यमीलाई जनही ५० हजार नगदसहित कदर पत्रद्वारा सम्मान गरिएको थियो

पशुपालन, मौरीपालन तरकारी तथा फलफूल खेती, कृषि फर्म, ब्युटी पार्लर , सिलाइ कटाई सेन्टर, ढाका कपडा तान उद्योग, आइटी इन्स्टिच्युट लगायत विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका सफल महिलाहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button