तपाईँ सुन्दै हुनुहुन्छः

छुरा प्रहारबाट घाइते युवासंघका सदस्यको मृत्यु: छानबिन गर्न माग

रुपन्देही  । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको चक्कु प्रहारबाट निधन भएको छ । छुरा प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको हो । उनीमाथि गत जेठ २ गते बुटवल कालिका नगरको एक रेष्टुरेन्टमा छुरा प्रहार भएको थियो । 

बुटवल उपमहानगरपालिका वडा नं-७ निवासी राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीका पूर्व सदस्य रवि थापा मगरको जेठ २ गते बुधबार साँझ बुटवलकै कालिका नगरमा रहेको एक रेस्टुरेन्टमा  उनीमाथि छुरा प्रहार भएको र घाइते भई उपचारका क्रममा निधन भएको युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिनुभयो। 

एउटा जुझारु र ऊर्जाशील युवाको अल्पायुमा भएको निधनले अत्यन्तै पीडा बोध गराएको र घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले बताउनुभयो। गत जेठ २ गते भएको घटनामा संलग्न व्यक्तिको हालसम्म पनि खोजी कार्य नहुनु अत्यन्तै दुःखद विषय रहेको बताउँदै उहाँले घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि आग्रह गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

रेस्टुरेन्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचानसमेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवासंघको गुनासो छ । प्रहरी अनुसन्धानप्रति पनि प्रश्न चिन्ह खडा हुनेगरी गतिविधि भएकाले सङ्गठनले प्रहरी कार्यालयमै पुगेर ध्यानाकर्षण गराइएको अध्यक्ष बस्नेतको भनाइ छ । 

‘अनुसन्धानमार्फत दोषीलाई सजाय दिने काममा ढिलासुस्ती र लापरवाही भएको खण्डमा सङ्गठनले कडा कदम चाल्ने विषयसमेत जानकारी गराइएको छ’ प्रहरीलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । घटनामा संलग्नलाई तत्काल पक्राउ गरी क्षतिपूर्ति सहित आवश्यक कानूनी कारबाही गर्न युवासंघ रुपन्देहीले माग गरेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button