तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बाढीको बबन्डर : एक जना बेपत्ता, दुई सय बढी घर डुबानमा

धनगढी । कैलालीमा लगातारको वर्षासँगै आएको बाढीले बगाउदा एक जना बेपत्ता हुनाका साथै दुई  सय बढी घर डुबानमा परेका छन् । 

कटैनी खोलामा आएको बाढीले बगाउदा गौरीगंगा नगरपालिका ११ की २० वर्षीय सुस्मिता चौधरी बेपत्ता भएको कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टले बताउनु भयो । काठेपुल तान्नेक्रममा बाढीले बगाउदा बेपत्ता भएकी चौधरीको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । उहाँको खोजीका लागि प्रहरी टोली खटिएको छ । 

लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका १ सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताउनुभयो । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घर भित्रै बसिरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका ७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसमानलाई सुरक्षित स्थानमा सार्ने काम भईरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको बताइएको छ । 

जिल्लाको दक्षिणपूर्वी भजनी, लालबोझी, जोशीपुर लगायतका क्षेत्रमा वर्षा अत्यधिक भइरहेको र काडा, पथरैया, कान्द्रा सहितका नदीमा बाढीको सतह बढ्दै गएको एसपी विष्टले बताउनु भयो । बाढी प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button