तपाईँ सुन्दै हुनुहुन्छः

भारत हुँदै कुवेत पठाउन लागेका ६ जना नेपाली चेलीको उद्धार

भैरहवा । कुवेत पठाइदिने प्रलोभनमा पारी भारतीय भूमिमा पुर्‍याएका ६ जना नेपाली चेलीको सकुशल उद्धार गरी शुक्रबार परिवारको जिम्मा लगाइएको छ ।

नेपाल–भारत सीमा नजिकै भारतीय एक पसलमा नेपाली चेलीहरूलाई कहाँ÷ कसरी पुर्‍याउने दलालले प्रपञ्च मिलाउँदै गर्दा भारतीय प्रहरी एसएसबीको समन्वयमा सशस्त्र सीमा सुरक्षा कार्यालय भैरहवाको टोलीले असार १८ गते उद्धार गरी माईती नेपालको संरक्षणमा राखिएका उनीहरुलाई परामर्शपछि आफन्तको जिम्मा लगाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

उनीहरुलाई परिवारको जिम्मा लगाउँदै वैदेशिक रोजगारीमा जानु अघिका सबै प्रक्रियाका बारेमा जानकारी दिनुपर्ने, आफु कुन देश जाँदै छु, के कामका लागि जाँदै छु भन्ने कुरा बुझेर मात्र निर्णय लिनुपर्ने प्रजिअ अर्यालले सुझाव दिनुभयो ।

प्रजिअ अर्यालेले उनीहरुलाई खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाहरूको जीवन जोखिममा पर्न सक्नेतर्फ परामर्श दिनुभयो ।उहाँले मानव बेचबिखनका घटना न्युनिकरण र दोषीलाई कानुनी दायरामा ल्याउन पीडितहरूको प्रतिबद्धता अनिवार्य हुने बताउनुभयो ।

खाडी मुलुकमा भिजिट भिसामा महिलाहरूलाई लैजाने र घरेलु कामदारका रुपमा उनीहरुलाई बेचिदिने जोखिम बढेपछि नेपाल सरकारले यसमा रोक लगाएको छ ।

यसैको फाइदा उठाउँदै वैदेशिक रोजगारका दलालहरूले नेपाली महिलाहरूलाई भारतको बाटो हुँदै अवैध रुपमा खाडी मुलुकसम्म पुर्‍याउने गरेका छन् । उद्धार गरिएका उनीहरुलाई पनि कुवेतमा मासिक ४० हजार तलब दिलाई दिने आशा देखाएर घरको काम लगाइदिने भन्दै दलालले काठमाडौँका होटलमा एक महिनादेखि राखेर नवलपरासी हुँदै भारत पुर्याएक थिए । यसरी सीमाबाट नेपाली चेलीलाई अवैध बाटो हुँदै लैजाने यो पहिलो घटना भने होइन । नेपाली महिला तथा बालबालिका यसको उच्च जोखिममा छन् भन्ने जसलाई प्रहरीको तथ्याङ्कले पनि पुष्टि गर्छ ।

महिला सेलको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०।०८१ म मात्र नेपाल भारत सीमा नाकाबाट ११९ जनाको यसअघिनै उद्धार गरिएको छ भने भारतका विभिन्न स्थानबाट ३० जनाको उद्धार गरिएको छ । जसमा महिला तथा बालबालिकाको सङ्ख्या बढी छ ।

रुपन्देही, रोल्पा, कपिलवस्तु पर्वत लगायतका जिल्लाका ६ जना महिलाहरूलाई दलालले काठमाडौँका होटलमा केही समय राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याएर फर्काएको उद्धार गरिएका ती महिलाहरूले बताएका छन् ।

“काठमाडौँ एयरपोर्टबाट फर्काएपछि तिमीहरूको भिसा भारतमा आउँछ उतैबाट जाने भन्दै भुमही नवलपरासी हुँदै भारत पुर्‍यायो । ” उद्धार गरिएकी रुपन्देहीकी एक पीडित महिलाले भनिन ।

वैदेशिक रोजगारीको नाममा भारतीय अवैध बाटो हुँदै नेपाली चेलीहरूलाई खाडीका विभिन्न मुलुकमा पुर्‍याउने प्रचलनलाई निमुर्ल पार्नका लागि रुपन्देही प्रहरी सक्रिय रुपमा लागेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले बताउनुभयो । यस घटनाका विषयमा थप अनुसन्धान भइरहेकोले घटनामा संलग्न व्यक्ति छिटो पक्राउ पर्ने एसपी राठौरले बताउनुभयो। घटना मानव बेचबिखन ब्युरो काठमाडौँमा जानकारी गराउने र दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो।

क्रस बोर्डर सुरक्षा मिटिङहरूमा मानव तस्करी न्युनिकरणका विषयमा सूक्ष्म तरिकाले छलफल हुने सशस्त्र सीमा सुरक्षा बल २७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक आनन्द कुमार थापा मगरले जानकारी दिनुभयो ।

“आम पुलिस फोर्स सीमा नाकामा हुनसक्ने मानव तस्करीका घटनामा धरै संवेदनशील छ, शङ्का लागेको खण्डमा जहाँ जतिबेला पनि हामी सोधपुछ गर्छौँ”, सशस्त्र प्रहरी उपरिक्षक थापाले भन्नुभयो ।

उद्धार गरिएका उनीहरू वैदेशिक रोजगारीका विषयमा अनविज्ञ रहेकोले उचित परामर्श र संरक्षण प्रदान गरिएको माईती नेपाल भैरहवा कार्यालयका प्रमुख माया केसीले बताउनुभयो ।

उद्धार गरिएकी रुपन्देहीकी विनिता (नाम परिवर्तन) लाई महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था आशिष सामाजिक सेवा नेपालले निःशुल्क ६ महिने सिलाइकटाई तालिम दिने र आत्मनिर्भरका लागि जागिर समेत मिलाइदिने सेवा नेपालका लुम्बिनी प्रदेश संयोजक विजया खत्रीले प्रतिबद्धता जनाउनुभयो ।

यस्तै अन्यलाई रुपन्देहीका संघ संस्थाले आत्मनिर्भरको लागि रोजगारीको पहल गरिदिने आश्वासन दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button