तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्गीय कोइरालाको जन्म शताब्दीको अवसरमा विचार गोष्ठीको आयोजना

विराटनगर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपालको अस्तित्व जोगाउन गिरिजाप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०० औ जन्म शताब्दीको अवसर आज विराटनगरमा आयोजित विचार गोष्ठीमा उहाँले माओवादीलाई शान्ती प्रक्रियामा ल्याएर सशस्त्र द्वन्दका कारण छिन्नभिन्न अवस्थामा पुग्न लागेको मुलुकको अस्तित्व जोगाउन गिरिजा प्रसाद कोइरालाले साहसी काम गरेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको समझदारी र सहमति सत्ताका लागि नभई मुलुक र जनतामा चुलिएको निराशा समाधानका लागि भएको बताउनुभयो ।

स्वर्गीय गिरिजा प्रसाद कोइरालाले देखाएको बाटोलाई अघि बढाउन पनि दुवै दलबिच सहमति आवश्यक रहेको उहाँको भनाई थियो ।

कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल तथा भिम पराजुलीले राजनीति अस्थिरताका कारण मुलुकले गति लिन नसकेकाले अब राजनीतिक स्थायित्वका लागि दलहरू मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस मोरङका सभापति एवं सङ्घीय सांसद डिगबहादुर लिम्बु र पूर्व केन्द्रिय सदस्य गुरुराज घिमिरेले गिरिजा प्रसाद कोइराला नेपाली राजनीतिको प्रेरणाको श्रोत भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, पूर्व केन्द्रिय सदस्य हसन अन्सारी, कविता सरदार तथा नेपाल ट्रेड युनियनका पूर्व केन्द्रिय अध्यक्ष खिलानाथ दाहालले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि गिरिजा प्रसाद कोइरालाले खेल्नुभएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button