तपाईँ सुन्दै हुनुहुन्छः

तेह्रथुममा ऐतिहासिक राँके मेला तथा अर्ग्यानिक कृषि महोत्सव सुरु

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित वसन्तपुरमा फुडफेस्टीबल सहितको ऐतिहासिक राँके मेला तथा अर्ग्यानिक कृषि महोत्सव आजबाट सुरु भएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव, वसन्तपुरको फुटबल खेल मैदानमा २१ दिनसम्म सञ्चालन हुने आयोजक न्यू पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ ।

प्रदीप इन्टरप्राइजेज दमक झापाको व्यवस्थापनमा सुरु भएको महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने व्यवस्थापक रेवत कटुवालले बताउनुभयो ।

मेलामा साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुको प्रदर्शनी र बिक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन् । मेलामा घरेलु उत्पादन र स्थानीय खानाका परिकारका स्टलहरू रहेका छन् ।

पर्यटकीय बजार वसन्तपुरमा आयोजना गरिएको महोत्सवमा स्थानीय मौलिक र परम्परागत खानाका परिकारको स्वाद पर्यटकले चाख्न पाउनेछन् । गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार वसन्तपुरमा आयोजना गरिएको महोत्सवमा पूर्वी तराई, भारतको विहार र पश्चिम बङ्गाल समेतका पर्यटकले प्रत्यक्ष अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । चिसो हावापानी रहेको वसन्तपुर घुम्न आउने पर्यटकले पहाडी सौन्दर्यको अवलोकन गर्न पाउने छन् ।

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले स्थानीय स्तरको मौलिक खानपानका परिकारको स्वाद चाख्न पाउनेछन् । महोत्सवमा रैथाने जातका कृषि उपज बाट बन्ने परिकारको परिवर्द्धन समेत हुने मेला व्यवस्थापक बिकी भगतले जानकारी दिनुभयो ।

महोत्सवमा आउने पर्यटकले रमणीय पर्यटकीय क्षेत्र तीनजुरे, आरआर गार्डेन, पाँचपोखरी, चोरलुङ पार्क, मार्गा पोखरी, चित्रे बजार, धनरुपा पार्क, पात्ले पोखरी, मेलमिलाप पार्क, ठेकी पार्कलगायत क्षेत्र घुमघाम गरेर मनोरञ्जन लिन पाउने पर्यटन व्यवसायी समेत रहेका होटल व्यवसायी सुशीला पौडेलले बताउनुभयो ।

महोत्सवको करिब ५ लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने आयोजकले जनाएको छ । पर्यटक आगमनको अफसिजन शुरु भएको यो समयमा आयोजना भएको महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने उद्योग वाणिज्य संघ वसन्तपुरका अध्यक्ष रोशन सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button