तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज नाकाबाट ११ महिनामा २३ अर्ब बढीको धान, चामल, मकै, गहुँ  आयात

वीरगंज । मुलुकको प्रमुख भन्सार नाका वीरगंजको आईसिपी भन्सार हुँदै चालु आर्थिक वर्षको ११ महिनामा २३ अर्ब ५ करोड १७ लाख ३६ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ । 

वीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को साउन देखि जेठ मसान्त सम्म ८ अर्ब २ करोड ८० लाख ६४ हजार मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा १ अर्ब ६१ करोड ८४ लाख ५३ हजार मूल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ७ अर्ब ६४ करोड ४२ लाख ४७ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी वीरगंज नाकाबाट फापर, कोदोको पिठो लगायतका खाद्यान्न १ अर्ब ५५ करोड ३३ लाख ८४ हजार मूल्य बराबरको भित्रिएको छ भने गहुँ ४ अर्ब २० करोड ६३ लाख मूल्य बराबरको भित्रिएको छ । 

धान चामल, मकै र गहुँ लगायतका खाद्य सामग्रीबाट वीरगंज भन्सारले १ अर्ब २८ करोड ३७ लाख २४ हजार राजस्व असुली गरेको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

गत वर्ष वीरगंज नाकाबाट सो अवधिमा २० अर्ब ६२ करोड १३ लाख ९८ हजार मूल्य बराबरको धान, चामल, मकै, फापर कोदो तथा गहुँ लगायतका खाद्यान्न भित्रिएको र सो बापत १ अर्ब २२ करोड ६४ लाख २१ हजार राजस्व असुली भएको भन्सार प्रशासक पन्थीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button