तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति संरक्षणमा स्रष्टाहरूको योगदान स्मरणीय : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको साँस्कृतिक धरोहरलाई जोगाउन र त्यसलाई विश्वभरी चिनाउन नेपाली स्रष्टाहरूको योगदान स्मरणीय रहेको बताउनुभएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० बाट विभिन्न ६ जना स्रष्टालाई सम्मानित गर्दै राष्ट्रपति पौडेलले नेपालको कला संस्कृति भावी पुस्ताका लागि महत्त्वपूर्ण सम्पत्तिका रुपमा रहेको र त्यसलाई स्रष्टाहरूले जगेर्ना गर्दे आएको बताउनुभयो ।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले इतिहासमा गर्व गरेर मात्र नपुग्ने भएकोले आ आफ्नो क्षेत्रमा इतिहास निर्माण गर्नेतर्फ सबै नेपाली प्रयत्नशील रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले साँस्कृतिक सम्पदाको संरक्षण संवर्द्धन गर्ने सवालमा सरकार नेपाली स्रष्टाहरूको सदैव साथमा रहेको बताउनुभयो ।

मन्त्री तामाङले नेपाली साँस्कृतिक धरोहरलाई जोगाउने काम गर्दै आएको नेपाली कला क्षेत्रको प्रशंसा गर्दै आगामी दिनमा पनि यसतर्फ अझ बढी ऊर्जाशील भई लाग्न आग्रह पनि गर्नुभयो ।

त्यस अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले साँस्कृतिक क्षेत्रका विभिन्न विधामा विशेष योगदान पुर्‍याउनुहुने स्रष्टाहरूलाई प्रतिष्ठानले वर्षेनी नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गर्दै आएको र हालसम्म यस पुरस्कारबाट ५४ जना स्रष्टा सम्मानित भइसक्नुभएको बताउनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८० बाट सम्मानित हुनेहरूमा रङ्गमञ्च विधातर्फ वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, शास्त्रीय सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, गीतसङ्गीत विधा तर्फ वरिष्ठ गायिका तारा थापा रहनुभएको छ ।

यस्तै, लोक गायन विधातर्फ वरिष्ठ लोक गायक बमबहादुर कार्की, नाटक विधातर्फ गोपाल देवान र नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक जोगेन्द केसी पुरस्कृत हुनुभएको छ ।

ती सब पुरस्कारको राशि जनही एक लाख एक रुपैयाँ नगद रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button