तपाईँ सुन्दै हुनुहुन्छः

तीन तहका सरकारबीचको समन्वय र सहकार्य आवश्यक

बाँके । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रमुख चौधरीको विश्वास छ ।

जिल्ला समन्वय समिति बाँकेद्वारा नेपालगन्जमा आयोजित जिल्लाका स्थानीय तह, सङ्घीय र प्रदेश अन्तर्गतका सारकारी कार्यालय तथा गैसस संस्था बिच भएको अन्तरक्रियामा चौधरीले जिल्ला स्तरमा अहिले तीनवटै सरकारले आ–आफ्नो मनोमानी तरिकाले कार्य गरिरहेकाले उक्त कार्यको प्रभावकारिता नभएको भन्दै निकास विनाको विकास भएको धारणा राख्नु भएको थियो । 

उहाँले भन्नुभयो, ‘तीन वटै सरकारको समन्वय छैन, आ–आफ्नो ढङ्गले विकास निर्माणका काम समेत हचुवाको भरमा हुन्छ, त्यसले लाभग्राहीलाई फाइदा गरेको छैन, कति योजना फर्किएको छ भने कति योजनाको बजेट समेत फ्रिज भएको अवस्था छ ।’ त्यसैले जिल्ला स्तरमा सबैले र सबै कार्यालय निकायसँग प्रभावकारी समन्वय भएमा मात्र गुणस्तरीय काम हुने बताउनुभयो । 

कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जिल्लास्थित समन्वय समिति र स्थानीय तहबिचको सम्बन्ध नङ  र मासुको सम्बन्ध जस्तो बनाउनुपर्नेमा जोड दिँदै तीन वटै सरकारबिचको समन्वय अभावमा नागरिकले फाइदा लिन नसकेको दुःखद कुरा भएको बताउनुभयो । अध्यक्ष शाहले मुलुक सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा रहेको र यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना विकास गर्दै जनतालाई सुविधा दिनुपर्छ ।’ 

कार्यक्रममा समन्वय अधिकारी विक्रम प्रसाद पाण्डेले जिल्ला समन्वय समितिको काम कर्तव्य अधिकार र समन्वयको अवस्थालगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधिले कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा समन्वय समितिका उपप्रमुख सिता कार्की, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button