तपाईँ सुन्दै हुनुहुन्छः

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका समस्याबारे बुझ्न संसदीय उपसमिति रुपन्देहीमा

रुपन्देही । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याका बारेमा अध्ययन गर्न पूर्व पर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति रुपन्देही आएको छ ।

समितिले विमानस्थल अवलोकन गर्नुका साथै परिसरमै अन्तरसंवाद गर्ने कार्यक्रम बनाएको छ । यो समितिमा रुपन्देही क्षेत्र नं २ बाट संघीय सांसद रहेका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, क्षेत्र नं-१ का सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, क्षेत्र नं ४ का सांसद सर्वेन्द्रनाथ शुक्ला, क्षेत्र नं ५ का वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीलगायत रहनुभएको छ । समितिले असार १६ गतेदेखि १८ गतेसम्मको कार्यतालिका बनाएर आइतबार राती भैरहवामा आएको हो ।

सोमबार विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटिहरू, विमानस्थलको क्षमता र विस्तार, उद्देश्यबमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौती, विमानस्थल निर्माणको उद्देश्यअनुरूपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । टोलीमा 

सार्वजनिक लेखा समिति प्रदेश सभा, लुम्बिनी प्रदेश, मुख्यमन्त्री, पर्यटनमन्त्री र प्रमुख सचिव, पर्यटन सचिव, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, तीनवटै सुरक्षा निकायका रुपन्देही जिल्ला प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, संघीय संसद् र प्रदेश सभाका जनप्रतिनिधि (रुपन्देही, नवलपरासी र कपिलवस्तु), ना.उ.आयोजना कार्यालय, अध्यागमन र भन्सार कार्यालयका प्रमुखहरू, लुम्बिनी विकास कोषका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, रुपन्देही, होटल एसोसिएसनलगायत पर्यटन क्षेत्रका जिल्ला प्रतिनिधिहरूलाई समेट्ने कार्यक्रम रहेको छ । टोली सोमबार साँझ लुम्बिनी जाने र त्यहाँको गुरुयोजनाका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ । 

विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान सङ्ख्या भने वृद्धि नहुँदा स्थानीय  तथा व्यवसायी निराश छन् । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्ष जजिरा एयर लायन्सले नियमित उडान भरेकाले यहाँको चहलपहल ठिकै थियो तर जजिराले हाल उक्त उडान रोकेपछि सुनसान बनेको छ । नियमित उडानका लागि सरकारले चासो नदिएपछि लगातार आन्दोलन पनि भइरहेका छन् । उडान सङ्ख्या वृद्धि नभएपछि पर्यटनबाट लाभ लिने आसमा लगानी गरेका व्यवसायी यतिबेला सङ्कटमा छन् ।

सरकारले यहाँ ३५ अर्बभन्दा धेरै लगानीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल सञ्चालनमा ल्याएको हो । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी र आसपास क्षेत्र लक्षित गरेर विमानस्थल निर्माणले पर्यटक आवागमनमा वृद्धि हुने आसमा निजी क्षेत्रले होटल व्यवसायमा लगानी गरेका हुन् । 

गौतमबुद्ध विमानस्थल कार्यालयका अनुसार सञ्चालनमा आएको पहिलो वर्ष सन् २०२२ मा ३१ हजार ३ सय ५५ यात्रु यहाँबाट बाहिरिएकामा २०२३ मा घटेर ४ हजार ७ सय ५१ जनाले उडान भरेका थिए । २०२४ मेसम्म करिब १ हजार जना मात्रै यहाँबाट विभिन्न मुलुक गएको देखिएको छ । जजिरा एयर लायन्सले उडान गरेको वर्ष यहाँबाट धेरै यात्रु बाहिरिएका हुन् । जजिराले सातामा तीन दिन गरिरहेको उडान रोकेपछि नेपाल एयरलायन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवाका लागि सातामा एक दिन कनेक्ट उडान मात्र गरिरहेको छ । जसले गर्दा यहाँ यात्रुको सङ्ख्या वृद्धि हुन नसेको हो । 

जाडोयाममा भिजिबिलिटी नहुने भएकाले उडान रद्द गर्नुपर्ने बाध्यता छ । यस्तो बेला उडानका लागि जडान गरिएको इन्सटुमेन्टस् ल्यान्डिङ सिस्टम (आईएलएस) विधि अझै उपयोगमा ल्याउन सकिएको छैन । आईएलएस सञ्चालनका लागि भारतको स्वीकृति जरुरी पर्ने भएकाले सञ्चालनमा ल्याउन नसकिएको हो । भू–उपग्रहमा आधारित विधि उपयोग गरेकामा एक हजार मिटर भिजिबिलिटीमै अवतरण गर्न सम्भव हुने र यो विधि जडानका लागि थप खर्च नलाग्ने भएकाले यसको उपयोगका लागि विज्ञहरूले अनुरोध गरिरहेका छन् ।

यहाँबाट उडान भर्ने विमान कम्पनीको सङ्ख्या धेरै नभएकाले यात्रुका लागि रोजाइको विकल्प छैन । अर्कोतर्फ विदेश जानका लागि आवश्यक प्रक्रिया काठमाडौँमा पूरा गरेर भैरहवा आएर उडान भर्न सहज छैन । काठमाडौँबाट धेरै विमान कम्पनीले उडान भर्ने र हवाई कम्पनीपिच्छे भाडा दर फरक रहेकाले यात्रुले जहाज रोजेर उडान भर्न पाएका छन् । यहाँ उडान भर्न चासो दिइरहेका विमान कम्पनीले सेवा शुल्क छुट, हवाई टिकटमा लागू गरिएको भ्याट हटाउनुपर्ने, यहाँ ल्यान्डिङ/पार्किङमा शुल्क छुट र ग्राउन्ड ह्यान्डलिङ शुल्क छुट माग गरिरहेका छन् । ‘अहिले जजिरा र बिच एयरलाइन्सले उडानका लागि प्रस्ताव गरिरहेका छन् । 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थलमा उडान सङ्ख्या वृद्धिका लागि दुई वर्षदेखि दबाबका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँका अनुसार सङ्घले अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई पटक तथा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल र माधव नेपाललाई पनि विमान पूर्ण सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाइसकेको छ ।

विमानस्थल लक्षित गरेर रुपन्देही र आसपास ४० अर्ब रुपैयाँभन्दा बढी होटल व्यवसायमा लगानी भएको र निर्माणाधीन आधा दर्जन तारे होटलको काम रोकिएको श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button