तपाईँ सुन्दै हुनुहुन्छः

‘भाषा साहित्य संरक्षणमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण प्रवद्र्धन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रज्ञा–प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्र सम्बन्धी अध्ययन, अन्वेषण गर्ने साथै मौलिक सिर्जना एवं अनुवादको काम गर्ने नेपालको सर्वोच्च निकाय भएको धारणा राख्नुभयो ।

मन्त्री तामाङले साहित्यकार, अन्वेषकलगायत वाङ्मय क्षेत्रका प्रतिभाहरूको सम्मान गर्ने तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न पनि प्रतिष्ठानले भूमिका खेलिरहेको उल्लेख गर्नुभयो ।

नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवद्र्धन र विकासमा सरकार सचेत र प्रतिबद्ध रहेको भन्दै उहाँले अहिले विश्वव्यापी रूपमा देखापरेको आर्थिक सङ्कटबाट नेपाल पनि प्रभावित भएको बताउनुभयो ।

“नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासमा अधिकतम सहयोग गर्ने र त्यसका लागि बजेटको व्यवस्था गर्ने प्रयास गरिरहेको छु”, उहाँले भन्नुभयो, “प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, मातृभाषाको संरक्षण र संवद्र्धन, बाल साहित्यको विकास गर्ने लक्ष्य लिएको छ ।”

मन्त्री तामाङले सात वटै प्रदेशका भौगोलिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, भाषिक, साहित्यिक विषयको खोज अन्वेषण गरी दिग्दर्शनहरू प्रकाशित गर्न लागेको पनि जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान विसं २०१४ मा नेपाली साहित्य–कला एकेडेमीका नाममा स्थापना भएको थियो भने नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा–प्रतिष्ठान भएको हो ।

वार्षिकोत्सवका राष्ट्रिय कविता महोत्सव गरेको थियो । महोत्सवमा छ सयभन्दा बढी कविले भाग लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button