तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावतीमा लिच्छविकालीन अभिलेख भेटियो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ । आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ ।

गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्त्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभिलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ अनुसन्धानकर्ता सहितको टोली खटाएकामा उक्त लिच्छविकालीन अभिलेख भेटिएको हो ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एवं लिपि विज्ञ तथा इतिहासकार प्रा डा दिवाकर आचार्यका अनुसार इन्द्रावतीको महादेवटारमा भेटिएको शिवलिङ्गको फुटेको जलहरीमा उत्कीर्ण संवत् ४४२ (शकसंवत् मान्दा विसं ५७७) पुस ५ मिति अङ्कित शिलालेखमा राजाको नाम भने छैन ।

“काठमाडौँ उपत्यका बाहिर फेला परेको यस अभिलेखको विशेष महत्व छ”, आचार्यले भन्नुभयो । उक्त अभिलेखबाट लिच्छवि कालमा राजपरिवार पछिको सबैभन्दा शक्तिशाली र शिक्षित परिवारका एक नयाँ सदस्य र उनको समस्याग्रस्त चरित्र एवं सन्देहास्पस्द अवसानको सूचना प्राप्त भएको उहाँको भनाइ छ ।

इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले महादेवटारमा लिच्छविकालीन अभिलेख भेटिँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । उहाँले सो स्थानको सुरक्षा र उत्खननका लागि पुरातत्त्व विभागमार्फत पहल थालिसकेको र उत्खननका लागि गाउँपालिकाले बजेट समेत व्यवस्थापन गरेको बताउनुभयो ।

हिमवत्खण्ड मिडिया प्रालिका प्रमुख श्रीकृष्ण धिमालले अनुसन्धानका क्रममा लिच्छविकालीन अभिलेखसँगै मल्लकालीन, शाह काल र राणा कालसम्मका अभिलेख फेला पारेको बताउनुभयो । उहाँले लिच्छविकालीन सरस्वतीको मूर्ति पनि भेटिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button