तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा अमर्यादित गतिविधि गर्ने सदस्यमाथि कारबाही हुन्छ : सभामुख घिमिरे

भक्तपुर । सभामुख देवराज घिमिरेले संसदमा अमर्यादित गतिविधि गर्ने सदस्यमाथि कारबाही हुने बताउनुभएको छ ।

भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्गलिस बोर्डिङ स्कुलले आयोजना गरेको गोल्डेन सुनगाभा संसद् अधिवेशनमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीले यसको नियमन गर्ने अधिकार प्राप्त गरेको बताउनुभयो ।

संसदमा अमर्यादित गतिविधि र तोडफोड नगन्य रुपमा मात्रै हुने गरेको बताउँदै सभामुख घिमिरेले संसद् भवन भित्र सांसदबाट यस्ता गतिविधि भएमा सचेत गराउने, रेकर्डबाट हटाउने, माफी मगाउने, चेतावनी दिने, अटेर गरेर पटक पटक अमर्यादित गतिविधि भए तीन दिनदेखि तीन महिनासम्म सभाबाट निष्कासन गर्ने र जे पनि गर्न खोजे फौजदारी मुद्दा लगाउन सक्ने व्यवस्था रहेको बताउनुभयो ।

उहाँले २०७५ सालमा बालअधिकारसम्बन्धी कानून पास भएको चर्चा गर्दै बाल अधिकारलाई तीन तहकै सरकारले कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

हिउँदे अधिवेशनमा शिक्षा विधेयक पारित हुने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

सभामुख घिमिरेले देशमा बढ्दो बेरोजगार समस्या चुनौती बनेको भन्दै राज्यले यही केही गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।

विद्यार्थीले सामाजिक शिक्षा अन्तर्गत आज सञ्चालन गरेको संसद्को अभ्यासमा सभामुख घिमिरेलाई सांसद बनेर सत्ता पक्ष र प्रतिपक्षको रोहमा बसेका विद्यार्थीहरूले विभिन्न प्रश्नहरू गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले विद्यार्थीले सामाजिक शिक्षा विषयको पाठ्यक्रममा आधारित रहेर संसद्को अभ्यास गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button